
महेन्द्रनगर । कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जभित्र च्याउ टिप्न जानुभएका महिला अन्ततःसम्पर्कमा आउनुभएको छ ।
भीमदत्त नगरपालिका–१९ बागफाँटाका महिलाहरु सेनाको खोजीपछि सम्र्पकमा आउनुभएको हो । उहाँहरु गत आइतबारदेखि सम्पर्क बाहिर हुनुहुन्थ्यो ।
शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज सुरक्षार्थ खटिएका रणसिंह दल गणका गणपति प्रमुख सेनानी प्रकाश घिमिरेले सम्र्पक बाहिर रहेका महिलाहरु परिवारको सम्र्पकमा आइसकेको जानकारी दिनुभयो ।
“सबै संयन्त्र परिचालन गरेर निकुञ्जभित्र खोजीकार्य व्यापाक पारिएको थियो”, उहाँले भन्नुभयो, “केहीबेर अघि परिवारको सम्र्पकमा आएको र सबै सुरक्षित रहेको खबर प्राप्त भयो ।”
त्यसैगरी, आइतबार साझँदेखि नै निकुञ्जभित्र हराइरहेका बेल्डाडी गाउँपालिका–२ का तीन जना महिलालाई भने गणका सहसेनानी सुमन जिसी नेतृत्वको टिमले उद्धार गरेको थियो ।
उहाँहरुलाई सोमबार बिहान सकुशल उद्धार गरी परिवारको जिम्मामा सुम्पिएको छ । निकुञ्जमा अवैध च्याउ टिप्न गएका तीन वटा महिला समूह सम्र्पकविहीन हुँदा सेना, प्रहरी, सशस्त्र प्रहरी, नगर प्रहरी र निकुञ्ज प्रशासन खोजीकार्यमा जुटेका थिए ।
–––




































