
काठमाडौं । नेपाली साहित्य, गीत–संगीत र सामाजिक सेवाका क्षेत्रमा लामो समयदेखि सक्रिय वरिष्ठ साहित्यकार, गीतकार तथा प्राज्ञ उन्नती बोहरा ‘शीला’को विशेष सांगीतिक कार्यक्रम आयोजना हुने भएको छ । उन्नती बोहरा शीला गीत पुरस्कार मञ्चले काठमाडौंमा पत्रकार सम्मेलन गर्दै आगामी कात्तिक १५ गते आइतबार दिउँसो २ बजे काठमाडौंको भृकुटीमण्डपस्थित नेपाल पुलिस क्लबमा ‘फर्की आऊ शान्ति तिमी ः उन्नती शीला गीत समर्पण साँझ’ आयोजना गर्न लागिएको जनाएको हो ।
नेपाली सुगम संगीतमा पाँच दशकभन्दा लामो साधना गर्नुभएकी प्राज्ञ गीतकार उन्नती बोहरा शीलाको सृजनालाई सम्मान गर्दै ’फर्कि आऊ शान्ति तिमी, उन्नती शीला संगीत समर्पण साँझ’ को आयोजना गर्न लागिएको हो । उन्नती शीला गीत समर्पण साँझमा उहाँद्वारा रचना गरिएका विभिन्न २५ वटाभन्दा बढी कालजयी गीतहरूको प्रस्तुति रहने बताइएको छ । जसमा ३०० वटा कविता र २५० गीतमध्ये सार्वजनिक रूपमा रेकर्ड भइसकेका १५१ गीतबाट छानिएका सर्वोत्कृष्ट गीतहरू ’फर्कि आऊ शान्ति तिमी’, ’जननी जन्मभूमिश्च’, ’डाँडाकाँडा ढुकुम डाँडी’ आदि गीतहरूको प्रस्तुति रहने समेत बताइएको छ । पत्रकार सम्मेलनमा बोहराले लामो समयको गीतलेखन यात्राको मोडमा शुभेच्छुक, साहित्यकार, संगीतकर्मी तथा आफ्ना सिर्जनाप्रेमीहरूको साथ र माया विशेष रूपमा आवश्यक महसुस भएको बताउनुभयो । उहाले श्रीमान पूर्वमन्त्री स्वर्गीय दीपक बोहरा र छोरी जेनी चाँदनी ग्यारेटको सम्झनामा समर्पण साँझ गर्न लागेको उल्लेख गर्नुभयो ।
उन्नती शीला गीत समर्पण साँझमा मीरा राणा, प्रमोद खरेल, कर्णदास, आनन्द कार्की, जगदिश समाल, सुरेश लामा, विश्व नेपाली, टीका प्रसाईं, बानिका प्रधान, संगीता राणा प्रधान, माण्डवी त्रिपाठी, प्राश्ना शाक्य, सरिता शाही लगायतका ख्यातिप्राप्त गायक–गायिकाको प्रस्तुति रहने छ ।
त्यस्तै कार्यक्रममा नेपाली संगीतका धरोहर, संगीत रत्न एवं नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका पूर्व उपकुलपति शम्भुजीत बासकोटालाई अभिनन्दन गरिने र नेपाली गीत संगीतको क्षेत्रमा योगदान पुराउनुहुने स्रष्टा गायिका मीरा राणा, साहित्यकार उषा शेरचन लगाएतका स्रष्टाहरुलाई सम्मान गर्ने कार्यक्रम रहेको उन्नती बोहरा शीला गीत पुरस्कार मञ्चले जानकारी दिएको छ ।









































