
काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले प्रतिनिधिसभा बैठक बहिष्कार गर्नुभएको छ ।
बुधबार बसेको बैठकमा अध्यक्ष साम्पाङले प्रधानमन्त्री बालेन शाहलाई सदनमा उपस्थित गराउन सभामुखले रुलिङ नगरेको भन्दै बैठक बहिष्कार गर्नुभएको हो । त्यसअघि बैठक सुरु हुनेबितिकै उहाले सभामुखलले रुलिङ गरेर प्रधानमन्त्रीलाई ल्याउन माग गर्नुभयो । नियमावलीको नियम १५ को २ अनुसार प्रधानमन्त्रीलाई सदनमा जवाफदेही बनाएर ल्याउन नसके नियमावलीको नियम ३१ को १ लागू गरेर आफुलाई सदनबाट निस्कासन गर्न अनुरोध गर्नुभयो ।
साम्पाङले धारणा राखेपछि सभामुख डोलप्रसाद अर्यालले प्रधानमन्त्रीको उपस्थीतिको मागका बिषयमा आफ्नो ध्यानाकर्षण भएको भन्दै बस्न आग्रह गर्नुभएको थियो । सभा सञ्चालनका लागि सभामुखलाई निर्देशन दिने अभ्यास नभएको भन्दै उहाले नेपालको संविधान, कानून र ऐन अनुसार आवश्यक निर्णय लिने जिम्मेवारी सभामुखको भएको स्मरण गराउनुभयो ।
प्रधानमन्त्रीको उपस्थीतिको लागि सभामुखले रुलिङ नगरेपछि अध्यक्ष साम्पाङले बैठक बहिष्कार गर्नुभएको थियो । उहाले बैठक बहिष्कार गरेपनि श्रम संस्कृतिका अन्य सांसदहरु भने बैठक बहिष्कार गरेनन् ।





































