
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले जनताले दिएको अभिमतको पूर्णसम्मान गर्दै सकारात्मक परिवर्तनका पक्षमा लाग्न नवनिर्वाचित प्रतिनिधिसभा सदस्यलाई निर्देशन दिनुभएको छ ।
बुधबार ललितपुरमा नवनिर्वाचित प्रतिनिधिसभा सदस्यका लागि आयोजना गरेको अभिमुखीकरण कार्यक्रमलाई सम्बोधन गर्दै सभापति लामिछानेले जनताले ठूलो आशा र भरोसा गरेर रास्वपालाई खन्याएर मत दिएको भन्दै अभिमतको पूर्णसम्मान गर्दै सकारात्मक परिवर्तनका पक्षमा लाग्न निर्देशन दिनुभएको हो । उहाले नागरिकसँग गरेका करारपत्रलाई राम्रोसँग सुझाव समेत दिनुभयो । सभापति लामिछानेले सार्वजनिक रूपमा जथाभावी अभिव्यक्ति दिने र प्राप्त अभिमतलाई मनोरञ्जनका रूपमा लिने छुट कसैलाई नरहेको उल्लेख गर्नुभयो । अर्थतन्त्र लगाएत देशका कयौं गहन बिषयमा गरिने हल्का टिप्पणीले रास्वपाप्रतिको आशा निराशामा बदलिन सक्ने भएकाले सचेत रहन उहाले आग्रह गर्नुभयो । सभापति लामिछानेले संसद चले बाहेकको दिनमा आफ्नो निर्वाचन क्षेत्रमा खटिन र जनताको समस्या बुझ्न निर्देश गर्नुभयो । उहाले मन्त्री बनाउन र मन्त्री बन्नका लागि मिडिया ट्रायल नगर्न समेत चेतावनी दिनुभयो । अहिलेसम्म मन्त्रीका बिषयमा पार्टीभित्र कुनै छलफल र निर्णय नभएको उहाले बताउनुभयो ।
रास्वपाका समर्थक प्रायः अराजक र असहिष्णु छन् भन्न टिप्पणी हुने गरेको भन्दै सभापति लामिछानेले सामाजिक सञ्जालमा गाली गलौज गर्ने काम नगर्न समेत निर्देशन दिनुभयो । उहाले अहिले रास्वपाले नभइ देशले जितको प्रमाणित गर्नुपर्ने भएकाले सुशासनमा नयाँ मानक स्थापनाका साथै मुलुकलाई आर्थिक समृद्धिको बाटोमा अघि बढाउन अहोरात्र काम गर्ने स्पष्ट पार्नुभयो ।








































