
आइसीसी टी–२० विश्वकपमा लगातार तेस्रो खेलमा हार बेहोर्दै नेपालको समुह चरणबाटै बाहिरिएको छ ।
आइतबार मुम्बईको वानखेडे क्रिकेट स्टेडियममा भएको खेलमा नेपाल वेस्ट इन्डिजसँग ९ विकेटले पराजित भएको हो । नेपाललाई पराजित गरेसँगै वेस्ट इन्डिज भने सुपर ८ मा प्रवेश गरेको छ । टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १३३ रन बनाएको थियो । नेपालले दिएको १३४ को विजयी लक्ष्य पछ्याएको वेस्ट इन्डिजले १५ दशमलव २ ओभरमा १ विकेट गुमाउँदै लक्ष्य पूरा गरेको हो । वेस्ट इन्डिजका लागि कप्तान साई होपले ६१ रनको अर्धशतकीय पराी खेले । सिम्रोन हेटमायर ४६ रनमा अविजित रहे । ब्रान्डन किंगले २२ रन बनाए । नेपालका नन्दन यादवलेबाहेक अरू बलरले विकेट लिन सकेनन् ।
त्यसअघि पहिले ब्याटिङ गरेको नेपालको लागि दिपेन्द्र सिंह ऐरीले सर्वाधिक ५८ रन बनाए । सोमपाल कामी २६ रनमा अविजित रहे । लोकेश बमले १३ तथा आसिफ शेख र गुलशन झाले समान ११÷११ रन जोडे भने रोहित पौडेलले ५, आरिफ शेखले २, कुशल भुर्तेलले १ रन बनाएका थिए ।
वेस्ट इन्डिजका जेसन होल्डरले सर्वाधिक ४ विकेट लिए। म्याथ्यु फोर्ड, अकील होसेन, शमर जोसेफ र रोस्टन चेजले समान एक–एक विकेट लिए ।
नेपालले अब आफ्नो अन्तिम खेल फेब्रुअरी १७ मा स्कटल्यान्डसँग खेल्नेछ ।









































