आर्थिक
बाह्य क्षेत्रबाट उत्पन्न चुनौतीलाई सामना गर्न अव बन्ने सरकारले उचित कदम चाल्ने अर्थमन्त्रीको विश्वास

काठमाडौं । अर्थमन्त्री रामेश्वर खनालले बाह्य क्षेत्रबाट उत्पन्न चुनौतीलाई सामना गर्न अव बन्ने सरकारले उचित कदम चाल्ने विश्वास व्यक्त गर्नुभएको छ ।
बुधबार काठमाडौंमा नागरिक लगानी कोषको ३६ औं वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै अर्थमन्त्री खनालले मध्यपूर्व र खाडी मुलुकहरूमा आएको संकटको कारणले नेपालको आपूर्ति श्रृंखला अवरुद्ध हुने र आयात गर्ने वस्तुहरूको मूल्य बढ्ने जाने देखिएकाले शक्तिशाली बहुमतसहित बन्ने नयाँ सरकारले बाह्य क्षेत्रबाट उत्पन्न चुनौतीलाई सामना गर्न उचित कदम चाल्ने विश्वास व्यक्त गर्नुभएको हो ।
बाह्य क्षेत्रबाट उत्पन्न भएका चुनौतीलाई सामना गर्न कतिपय बिषयमा द्रुत गतिले निर्णय गर्नुपर्ने अवस्था रहेको उहाले बताउनुभयो ।
अर्थमन्त्री खनालले मुलुकको अर्थतन्त्रमा सकारात्मक संकेत देखिएपनि निष्क्रिय पूँजीलाई उत्पादनशील काममा लगानी गर्न नसकेको धारणा राख्नुभयो । उहाले मुलुकमा रोजगारी सिर्जना, निष्क्रिय पूँजीको उत्पादनशील काममा लगानी र लगानीकर्ताको हातमा पूँजी जाने बाटो सहज नभएसम्म सूचक राम्रो भएर मात्रै खुसी हुनुपर्ने अवस्था नहुने उल्लेख गर्नुभयो ।
कार्यक्रममा कोषका कर्मचारी लगाएतलाई सम्मान तथा पुरस्कृत गरिएको थियो भने अर्थमन्त्री खनालले कोषद्वारा प्रकाशित स्मारिका बिमोचन समेत गर्नुभएको थियो ।







































