
काठमाडौं । संसदीय समितिले सुनकोशी मरिण डाईभर्सन बहुउद्देश्यीय आयोजनाको ठेक्का रद्दसम्बन्धी सम्पूर्ण कागजात उपलव्ध गराउन सरकारलाई निर्देशन दिएको छ ।
सिंहदरबारमा मंगलबार बसेको प्रतिनिधिसभा अन्तर्गतको सार्वजनिक लेखा समितिले ठेक्का रद्दसम्बन्धी उजुरीमाथि छलफल गर्दै ७ दिन भित्र सम्पूर्ण कागजात उपलव्ध गराउन निर्देशन दिएको हो । समिति सभापति भरत बहादुर खड्काले राष्ट्रसेवक कर्मचारीहरूलाई विधि, प्रक्रिया र प्रणालीभित्र रहेर काम गर्न आग्रह गर्दै आवश्यक कागजातहरू ७ दिनभित्र समितिमा उपलब्ध गराइदिन निर्देशन दिनुभयो । उहाले प्रक्रिया, विधि, पद्धति र प्रणाली लोकतन्त्रका आधारभूत कुरा तथा ’नम्र्स’ भएकाले यसकै आधारमा अघि बढ्नुपर्ने धारणा राख्नुभयो । लेखा समिति अन्य निकायजस्तो अख्तियार वा अदालत नभई यसको आफ्नै निश्चित कार्यक्षेत्र रहेकाले सोहीअनुसार स्वाभाविक रूपमा चासो लिइने उल्लेख गर्नुभयो ।
बैठकमा जलस्रोत तथा सिंचाइ विभागका महानिर्देशक दिनेश रजौरियाले विभागीय प्रमुखको हैसियतले प्रचलित कानुन र सार्वजनिक खरिदसम्बन्धी व्यवस्थाको पालना सुनिश्चित गर्ने जिम्मेवारीका साथ आफुले ठेक्का प्रक्रिया रद्द गर्ने निर्णय गरेको बताउनुभयो । सार्वजनिक खरिद नियमावली संशोधन अनुसार कागजात र मूल्याङ्कनका आधार सच्याउनुपर्ने देखिएपछि प्रचलित कानुनी अवस्थाको पालना तथा भविष्यमा आउन सक्ने कानुनी र प्रक्रियागत जटिलतालाई दृष्टिगत गरी उक्त बोलपत्र रद्द गर्ने निर्णय गरिएको उहाले उल्लेख गर्नुभयो । प्रचलित कानुनी व्यवस्थाविपरीत हुने सम्भावना रहेको खरिद प्रक्रिया अघि बढाउनुको सट्टा कानुनसम्मत, पारदर्शी र प्रतिस्पर्धात्मक खरिद प्रक्रिया सुनिश्चित गर्नु निर्णयको मूल उद्देश्य रहेको उहाको भनाइ छ ।
बैठकमा समिति सदस्यहरुले कुनै पनि कारणले आयोजना अलपत्र पार्ने काम गर्न नहुने धारणा राखेका थिए । समिति सदस्य मनिष झाले सात वर्षसम्म परियोजना अन्योलमा रहेको अवस्थामा परियोजना रद्द गरिएमा मधेश आन्दोलनमा उत्रिनुबाहेक अन्य विकल्प नहुने चेतावनी दिनुभयो । मधेशमा खेती नै आर्थिक स्रोत रहेकाले त्यसमा खेलबाड वा अल्झाउने काम गर्न नहुने उहाले बताउनुभयो ।
त्यस्तै समिति सदस्य खुस्बु ओलीले आर्थिक प्रस्ताव खोल्नुअघि नै बोलपत्र रद्द गर्नुपर्ने तत्कालिन कारणका बारेमा आयोजनाले प्रष्ट पार्नुपर्ने माग गर्नुभयो । आर्थिक प्रस्ताव नखोलिकनै राज्यलाई दुई–तीन अर्ब घाटा हुने दाबीका बारेमा पनि उहाले प्रश्न गर्नुभएको थियो ।
मध्य तराईमा सिँचाइ सुविधा विस्तार र विद्युत् उत्पादन गर्ने लक्ष्यसहित अघि बढाइएको सुनकोशी मरिण डाइभर्सन बहुउद्देश्यीय आयोजनाको बाँध र विद्युत् गृह निर्माणसम्बन्धी ठेक्का रद्द गरिएपछि समितिमा उजुरी परेको थियो ।








































