
काठमाडौं । नेपाली कांग्रेसले सामाजिक सञ्जालमा देखिएका प्रतिक्रियाहरु मतदानको आधार नबन्ने स्पष्ट पारेको छ ।
शनिबार पार्टी कार्यालय सानेपामा पत्रकार सम्मेलन गर्दै प्रवक्ता देवराज चालिसेले सामाजिक सञ्जालमा देखिएका प्रतिक्रिया र चूनावी आंकलनले मतदानको आधार नबन्ने र वास्तविक विश्वास मतपत्रबाट देखिने बताउनुभएको हो । उहाले जनताको निर्णय नै शासनको वैधताको आधार हो भन्ने कुरामा कांग्रेसले पूर्णतः विश्वास राख्ने धारणा राख्नुभयो । प्रवक्ता चालिसेले निर्वाचनपछिको मतदेशलाई कांग्रेसले सहज रुपमा स्वीकार गर्ने समेत बताउनुभयो ।
त्यस्तै उहाले आसन्न निर्वाचनमा कांग्रेस एकताबद्ध भएर अघि बढेको उल्लेख गर्नुभयो । पार्टीका उम्मेदवारहरू सिद्धान्तका प्रतीक भएकाले उनीहरुलाई बिजयी गराउने दायित्व सवै नेता तथा कार्यकर्ताहरुको भएको उहाको भनाइ छ । उहाले फागुन ३ गते आइतबार चूनावी घोषणा पत्र जारी गरेपछि नियमित प्रचारका साथै घोषणापत्रसँग सम्बन्धित अन्य कार्यक्रमहरू पनि आयोजना गरिने जानकारी दिनुभयो ।
प्रवक्ता चालिसेले मुलुकको यथार्थ अवस्था चित्रण गर्दै सुशासन र विकास समयसीमा सहितको कार्ययोजना घोषणा पत्रमा उल्लेख गरिने बताउनुभयो । त्यसैगरि शासकीय सुधारका बिषय र जनतासँग जोडिएका अन्य बिषयलाई पनि कांग्रेसले प्राथमिकतामा राख्ने उहाको भनाइ छ ।







































