
लतिलपुर । नेकपा एमालेले निर्वाचनका लागि सरकारले अहिलेसम्म भरपर्दो र विश्वासिलो वातावरण बनाउन नसकेको आरोप लगाएको छ ।
निर्वाचनका सन्दर्भमा बुधबार पार्टी कार्यालय च्यासलमा पत्रकार सम्मेलन गर्दै एमालेले देशका बिभिन्न जेल तथा सुधार गृहबाट भागेका कैदीबन्दी फरार रहेको, हजारौ हातहतियार बाहिरै रहेको र राजधानीमा नै संगठित लुटपाट र चोरीका घटनाहरुमा बृद्धि भइरहेकाले शान्ति सुरक्षामा गम्भिर प्रश्न उठाएको जनाएको हो । निर्भिकतापूर्वक मतदानको वातवरण बनाउन पार्टीले सुरुदेखि नै सरकारको ध्यानाकर्षण गराएपनि सरकारले गम्भीरतापूर्वक नलिएको एमालेको भनाइ छ ।
एमालेले बिभिन्न घटनाको शीघ्र छानविन गरि दोषिलाई कानूनी दायरामा ल्याउन तथा आगामी दिनमा यस्ता घटना दोहरिन नदिन सुरक्षा व्यवस्थाको प्रत्याभूति गर्न एमालेले माग गरेको छ । त्यस्तै एमालेले दल तथा उम्मेदवारविरुद्ध प्रविधिको दुरुपयोग गर्दै भ्रम सिर्जना गरिएको भन्दै त्यस्तालाई कारबाहीको दायरामा ल्याउन माग गरेको छ ।
पत्रकार सम्मेलनमा एमाले उपाध्यक्ष एवं निर्वाचन परिचालन कमिटीका संयोजक रामबहादुर थापा बादल ले सवै दलहरु निर्वाचनको तयारीमा लागेका बेला सुरक्षाको प्रत्याभूत हुन नसकेको बताउनुभयो । उहाले मौसम र हिमपातलाई बहाना बनाउदै २१ फागुनको चुनाव सार्ने बहाना खोजिरहेको देखिएको बताउनुभयो । उपाध्यक्ष थापाले देशलाई अघि बढाउन केहि निर्वाचन क्षेत्रमा सहकार्य हुन सक्ने भन्दै यसबारे अन्य दलसंग छलफल भइरहेको जानकारी दिनुभयो ।
उहाले वर्तमान सरकार स्वतन्त्र र निष्पक्ष निर्वाचन गराउने भन्दा पनि षडयन्त्रकारी ढङ्गले सत्ता लम्ब्याउने बाटोमा अघि बढ्न खोजेको आरोप समेत लगाउनुभयो । न्यायलयलाई समेत आफ्नो छाँयामा पारेर शक्ति सन्तुलन बिगार्ने प्रयास हुन खोजेको उहाको भनाइ छ ।




































