
काठमाडौं । सरकारले मनसुन प्रतिकार्य तथा विपद् व्यवस्थापनको सम्पूर्ण तयारी पुरा भइसकेको जनाएको छ ।
सिंहदरबारमा बिहीबार बसेको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको बैठकपछि गृहमन्त्री सुधन गुरुङले मनसुन प्रतिकार्य तथा विपद् व्यवस्थापनको सम्पूर्ण तयारी पुरा भएसकेको र जोखिमयुक्त स्थानमा सुरक्षा निकायहरु खटाइसकेको जानकारी दिनुभयो ।
त्यस्तै सरोकारवाला निकायलाई पनि यसअघिको भन्दा अझै बढि प्रभावकारी रुपमा विपद् व्यवस्थापनका खटिन निर्देशन दिइसकेको उहाले बताउनुभयो । उहाले जनताको सुरक्षाको लागि चाहि आवश्यक परे हेलिकप्टर परिचालन गर्ने समेतको योजना रहेको जानकारी दिनुभयो ।
उहाले सडक अवरुद्ध भए तत्कालै खुलाउन सक्ने गरि आवश्यक पूर्वाधारको समेत व्यवस्था भइसकेको उल्लेख गर्नुभयो ।
मन्त्री गुरुङले सुरक्षा निकायका प्रमुखहरूसँग भएको छलफल पनि नागरिकको सेवामा खटिन र गलत गर्ने कसैलाई पनि उन्मुक्ति नदिने गरि निर्मम हुन निर्देश गरिएको बताउनुभयो ।
त्यस्तै प्राधिकरणका कार्यकारी प्रमुख प्रदीप कुमार कोइरालाले मनसुन पूर्व तयारीको बारेमा छलफल भएको जानकारी दिनुभयो । उहाले यसबर्ष सरदर भन्दा कम बर्षा हुने र बर्षा भए एकै ठाँउमा धेरै बर्षा हुने अनुमान गरिएकाले त्यसै अनुसार तयारी भएको बताउनुभयो ।
विपद् व्यवस्थापनलाई प्रभावकारी बनाउनका लागि तयारी अवस्थामा जुट्न गृहमन्त्रीले निर्देशन दिनुभएको कोइराराले जानकारी दिनुभयो ।
प्राधिकरणले तयार गरेको मनसुन पूर्वतयारी तथा प्रतिकार्य राष्ट्रिय कार्ययोजनामा यस वर्ष मनसुनजन्य विपद्बाट देशभरि करिब ५१ हजार ८६८ घरधुरीका २ लाख २६ हजार ६६१ जनसंख्या प्रभावित हुने आकलन गरिएको छ।








































