
ललितपुर । नेकपा एमालेले मङ्शिर पहिलो साता राष्ट्रिय भेला आयोजना गर्ने निर्णय गरेको छ ।
पार्टी कार्यालय च्यासलमा बिहीबार बसेको एमाले स्थायी कमिटी बैठकले पार्टीका प्रदेश, जिल्ला, पालिकाका पदाधिकारीहरू तथा सङ्घ, प्रदेश र पालिकाका जनप्रतिनिधिहरूको सहभागिता रहने गरि मङ्शिर पहिलो साता राष्ट्रिय भेला आयोजना गर्ने निर्णय गरेको एमाले उपमहासचिव लेखराज भट्टले जानकारी दिनुभयो । बैठकले आगामी मङ्शिर २६ गते वडा अधिवेशन र पुस ४ गते पालिका अधिवेशन गर्ने निर्णय गरेको उहाले बताउनुभयो । नगर र वडा अधिवेशन पश्चात् प्रदेश स्तरीय भेला आयोजना गर्ने निर्णय बैठकले गरेको छ । साथै बैठकले १३ वटा जिल्लामा अध्यक्ष पद खाली रहेकाले स्थानीय कमिटीले नै सिफारिस गरी माथिल्लो कमिटीबाट अनुमोदन गराई आयोजक समितिको रूपमा काम अघि बढाउने निर्णय भएको भट्टले बताउनुभयो । त्यस्तै मधेश प्रदेशको रौतहट जिल्लाकी समानुपातिक सांसद जैनब खातुनको निधन भएकाले, मापदण्ड अनुरूप बन्दसूचीको क्रम अनुसार धनुषाकी नजमा खातुनलाई पठाउने निर्णय गरिएको उहाले जानकारी दिनुभयो ।
बैठकमा वरिष्ठ नेता विद्यादेवी भण्डारीलाई एमाले अध्यक्ष केपी शर्मा ओलीले सपथ गराउनुभएको थियो । अन्य कार्यसूचीहरूमा छलफल गर्न शुक्रबार १ बजे पुनः बैठक बस्ने उपमहासचिव भट्टले बताउनुभयो ।









































