जोडिनुहोस
  • होमपेज
  • नेपाली कांग्रेसको १५औँ महाधिवेशन आइतबारदेखि काठमाडौंमा सुरु

नेपाली कांग्रेसको १५औँ महाधिवेशन आइतबारदेखि काठमाडौंमा सुरु

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशन आइतबारदेखि काठमाडोंमा सुरु भएको छ ।
काठमाडौंको खुल्लामञ्चमा सुरु महाधिवेशनको पार्टी सभापति गगन कुमार थापाले उद्घाटन गर्नुभयो । उद्घाटन कार्यक्रममा बिभिन्न दलका नेताहरु समेत सहभागी थिए ।
महाधिवेशन अन्तर्गत असोज १९ र २० गते बन्दसत्र तथा असोज २१ र २२ गते निर्वाचन प्रक्रिया हुने कांग्रेसले जनाएको छ । केन्द्रीय निर्वाचन समितिका अनुसार यो महाधिवेशनमा करिब सात हजार ७०० महाधिवेशन प्रतिनिधि सहभागी भएका छन् । महाधिवेशनको उद्घाटनसँगै सोमबारबाट बन्दसत्र पनि काठमाडौँको खुलामञ्चमै हुनेछ । बन्दसत्रमा सभापति, उपसभापति, महामन्त्री र कोषाध्यक्षले अलगअलग प्रतिवेदन पेस गर्नुहुने तय भएको छ ।
खुलामञ्चमा हुने महाधिवेशनका बन्दसत्रका लागि तीनवटा ठूला हल तयार गरिएको छ । प्रतिवेदनमाथि भूगोलका आधारमा समूह बनाई तीन फरक हलमा छलफल हुने र हरेक हलमा रहेका डिजिटल बोर्डबाट सहभागीले प्रस्तुत प्रतिवेदन सुन्न र हेर्न पाउने व्यवस्था गरिएको छ । कांग्रेस निर्वाचन समितिका अनुसार असोज १९ गते सोमबार अपराह्न २ देखि साँझ ६ बजेसम्म काठमाडौंस्थित राष्ट्रिय सभा गृहमा उम्मेदवारहरूको मनोनयनपत्र दर्ता हुनेछ ।
तोकिएको समयभित्र सम्पूर्ण केन्द्रीय महाधिवेशन प्रतिनिधि सदस्य तथा महाधिवेशनबाट उम्मेदवार बन्न योग्य व्यक्तिहरूले मनोनयनपत्र दर्ता गर्न सक्नेछन् । यसपटक कांग्रेसले ३५ वर्षमुनिका युवालाई पार्टीको नेतृत्व संरचनामा सुनिश्चित प्रतिनिधित्वको व्यवस्था गरेको छ । वडादेखि केन्द्रसम्म युवाको सहभागिता बढाउने गरी विधानमै व्यवस्था गरेको छ ।
त्यस्तै, केन्द्रीय कार्यसमितिमा ३५ वर्षमुनिका २१ जना युवा सदस्य निर्वाचित हुनेछन् । प्रदेशगत र खुला समूहबाट युवालाई केन्द्रीय नेतृत्वमा ल्याउने व्यवस्था गरिएको छ । कांग्रेसका विभिन्न तहका कार्यसमितिमा महिलाको प्रतिनिधित्व कम्तीमा एक तिहाइ सुनिश्चित गर्ने व्यवस्था गरिएको छ । यसले वडादेखि केन्द्रसम्म महिला सहभागिता बढाउने लक्ष्य राखेको समेत कांग्रेसले जानकारी दिएको छ ।
महाधिवेशनमा नेतृत्व चयनसँगै पार्टीको आगामी राजनीतिक दिशा, सङ्गठन सुधार र नयाँ पुस्ताको भूमिकाबारे बहसलाई पनि प्राथमिकता दिइएको कांग्रेसले जनाएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका