देश
स्वास्थ्य क्षेत्रलाई सुदृढ बनाउन अनुसन्धानलाई थप प्राथमिकतामा राख्नुपर्छ– उपराष्ट्रपति यादव

ललितपुर । उपराष्ट्रपति रामसहायप्रसाद यादवले नेपालको स्वास्थ्य क्षेत्रलाई सुदृढ बनाउन अनुसन्धानलाई थप प्राथमिकतामा राख्नुपर्ने बताउनुभएको छ ।
स्वास्थ्य तथा जनसंख्या वैज्ञानिकहरूको १२ औं राष्ट्रिय सम्मेलनको शुक्रबार ललितपुरमा उद्घाटन गर्दै उपराष्ट्रपति यादवले महामारी नियन्त्रण, रोग व्यवस्थापन र स्वास्थ्य प्रवद्र्धनमा रणनीतिक कदम चाल्दै स्वास्थ्य क्षेत्रलाई सुदृढ बनाउन अनुसन्धानलाई थप प्राथमिकतामा राख्नुपर्ने बताउनुभएको हो ।
संवैधानिक व्यवस्थाले स्वास्थ्य अनुसन्धानलाई नीति निर्माणको आधार बनाउनु पर्ने स्पष्ट मार्गदर्शन गरेको भन्दै उहाले वैज्ञानिक अनुसन्धानबाट प्राप्त तथ्य तथ्यांकहरूलाई स्वास्थ्य नीति, कार्यक्रम र कार्यान्वयनमा रूपान्तरण गर्नु संविधानले निर्देश गरेको मूल मर्म भएको धारणा राख्नुभयो ।
स्वास्थ्य अनुसन्धानलाई शैक्षिक अभ्यास मात्र नभई राष्ट्रिय दायित्वका रूपमा लिन सक्नुपर्ने उहाको भनाइ छ ।
उपराष्ट्रपति यादवले सम्मेलनमार्फत अनुसन्धानकर्तामा उत्साह र सहकार्यको वातावरण पनि निर्माण गर्दै
नेपालको स्वास्थ्य क्षेत्रलाई अझ सुदृढ बनाउन अनुसन्धान आवश्यक योजना बनाउने विश्वास व्यक्त गर्नुभयो ।
सबैको सामूहिक प्रतिबद्धता र उत्तरदायित्वले मात्र नेपाललाई वर्तमान र भविष्यका स्वास्थ्य चुनौतीहरूलाई सामना गर्न सक्षम बनाउने उहाको भनाइ छ ।









































