जोडिनुहोस
  • होमपेज
  • नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग औपचारिक रूपमा सञ्चालनमा

नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग औपचारिक रूपमा सञ्चालनमा

काठमाडौं । नागढुङ्गा÷सिस्नेखोला सुरुङमार्ग औपचारिक रूपमा सञ्चालनमा आएको छ ।
सोमबार पूर्वाधार विकासमन्त्री सुनिल लम्साल, जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका)का अध्यक्ष तानाका अकिहिको तथा नेपालका लागि जापानी राजदूत माएदा तोरुले संयुक्त रूपमा सुरुङमार्ग उद्घाटन गर्नुभएको हो । सन् २०१३ मा सडक विभागले नागढुङ्गा सुरुङमार्गको विषयमा अध्ययन थालेको थियो ।

सन् २०१५ मा जापानी सहायता निकाय (जाइका)को सहयोगमा नागढुङ्गा सुरुङमार्गको वातावरणीय र सामाजिक सर्वेक्षणसहित परियोजना तयारी सर्वेक्षण सम्पन्न गरेर प्रतिवेदन पेस गरेको थियो । सुरुङमार्गको निर्माणको काम भने जापानी कम्पनी हाजमा एन्डो कर्पोरेसन जापानले गरेको हो ।
नागढुङ्गा÷सिस्नेखोला सुरुङमार्गको उद्घाटन गर्दै मन्त्री लम्सालले नेपालका अन्य स्थानमा पनि सहज रुपमा आवाजगमन र दूरी छोट्टाउनका लागि सुरुङमार्गलाई प्राथमिकतामा राखेको बताउनुभयो ।

सडक बिभागका महानिर्देशक डा बिजय जैसीले सुरुङमार्गको सुरुवाती सम्झौता रु. १३.६ अर्ब (भ्याट बाहेक) रहेकोमा पछि परिमार्जन भई रु. १५.४ अर्ब पुगेको जानकारी दिनुभयो । जग्गाको मुआब्जासहित कुल लगानी करिब रु. २४ अर्ब रहेको उहाले जानकारी दिनुभयो ।

सञ्चालन तथा मर्मतसम्भारका लागि ’युक्सिन – एआरटी जेभी’ लाई ५ वर्षका लागि सर्भिस प्रोभाइडरको रूपमा नियुक्त गरिएको समेत उहाले बताउनुभयो । उहाले उद्घाटन लगत्तै सुरुमा आपतकालीन सेवाका सवारी साधनहरू नियन्त्रित रूपमा सञ्चालन गरिएको र त्यसपछि परीक्षण सञ्चालन अवधिभर अन्य सवारीलाई पनि चरणबद्ध रूपमा प्रवेश गराइने उल्लेख गर्नुभयो ।
अवधिभर कुनै टोल शुल्क नलाग्ने जानकारी दिदै उहाले नियमित सञ्चालनमा आएपछि मात्र निर्धारित दररेट अनुसार शुल्क लिइने बताउनुभयो ।

त्यस्तै जाइकाका अध्यक्ष तानाकाले नागढुङ्गा–सिस्नेखोला सुरुङमार्गलाई नेपालको यातायात विकास यात्राको ऐतिहासिक तथा रूपान्तरणकारी उपलब्धि भएको बताउनुभयो । नागढुङ्गा–सिस्नेखोला सुरुङमार्गको कुल लम्बाइ दुई हजार ६८८ मिटर रहेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका