
आइसीसी पुरुष टी–२० विश्वकपमा नेपालले लगातार दोश्रो हार व्यहोरेको छ ।
भारतको मुम्बईस्थित वानखेडे स्टेडियममा बिहीबार भएको इटालीविरुद्धको खेलमा नेपाल १० विकेटले पराजित भएको हो । नेपालले दिएको १२४ रनको लक्ष्य इटालीले बिना कुनै विकेट १२ दशमलव ४ ओभरमा पुरा गर्यो । इटालीका लागि एन्थोनी मोस्काले ६२ र जस्टीन मोस्काले ६० रन बनाए ।
त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको नेपालले १९ दशमलव तीन ओभरमा सबै विकेट गुमाएर एक सय २३ रन बनाएको थियो । नेपालका लागि आरिफ शेखले सर्वाधिक २७ रन बनाए । यस्तै, रोहित पौडेलले २३ र आसिफ शेखले २० रन बनाए भने दीपेन्द्रसिंह ऐरी १७ रनमा आउट भए । करण केसी १८ रनमा अविजित रहे । इटालीका बलरमध्ये क्रिशान कालुगामागेले चार ओभरमा १८ रन दिँदै तीन विकेट लिए । यस्तै, बेन मानेन्टीले नौ रन खर्चेर दुई विकेट झारे भने जसप्रीत सिंह र जे जे स्मट्सले समान एक÷एक विकेट लिए ।








































