
काठमाडौं । सरकारले आगामी आर्थिक बर्षका लागि २१ खर्ब २४ अर्व ३४ करोड रुपैयाँको बजेट सार्वजनिक गरेको छ ।
शुक्रबार संघीय संसदमा आगामी आर्थिक बर्षको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा स्वर्णिम वाग्लेले २१ खर्ब बढिको बजेट सार्वजनिक गर्नुभएको हो । कुल विनियोजनमध्ये चालु तर्फ रु १२ खर्ब ७० अर्ब ५८ करोड अर्थात् कुल विनियोजनको ५९ दशमलव आठ प्रतिशत, पुँजीगत तर्फ रु ३ खर्ब ३१ अर्ब १० करोड अर्थात् २० दशमलव तीन प्रतिशत, वित्तीय व्यवस्था तर्फ रु ४ खर्ब २२ खर्ब अर्ब ६४ करोड अर्थात् १९ दशमलव नौ प्रतिशत रहेको उहाले बताउनुभयो ।
उहाले आगामी आर्थिक वर्षका लागि अनुमान गरिएको खर्च व्यहोर्ने स्रोतमध्ये राजस्वबाट रु १४ खर्ब पाँच अर्ब ३१ करोड र वैदेशिक अनुदानबाट रु ६१ अर्ब ७४ करोड व्यहोर्दा रु ६ खर्ब ५७ अर्ब २९ करोड न्यून हुन जाने बताउनुभयो । सो न्यूनपूर्ति गर्न वैदेशिक ऋणबाट रु २ खर्ब ४७ अर्ब २८ करोड परिचालन गर्ने र राजस्व र वैदेशिक सहायता परिचालनबाट न्यून हुने रु चार खर्ब १० अर्ब आन्तरिक ऋणबाट परिचालन गर्ने उहाको भनाइ छ ।
उहाले राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको सिफारिसअनुसार आगामी आर्थिक वर्षमा प्रदेशका लागि रु ६१ अर्ब ५० करोड र स्थानीय तहका लागि रु ९० अर्ब २० करोड वित्तीय समानीकरण अनुदान उपलब्ध गराउने व्यवस्था गरेको उहाले बताउनुभयो ।


































