
काठमाडौं । नेपाली कांग्रेसले जेनजी आन्दोलन सम्बन्धी मानवअधिकार आयोगको प्रतिवेदनलाई निष्पक्ष ढंगले कार्यान्वयन गर्न माग गरेको छ ।
बिहीबार सिंहदरबारमा बसेको कांग्रेस संसदीय दलको बैठकपछि प्रमुख सचेतक वासना थापाले आयोगको प्रतिवेदनका बारेमा सामान्य छलफल भएको भन्दै सत्यतथ्य छानबिन गरेर कानुनसम्मत रूपमा प्रतिवेदनलाई अगाडि बढाउनुपर्ने बताउनुभयो । उहाले प्रतिवेदनमा उल्लेख बिषयहरु सत्य भए त्यसलाई अघि बढाउन कांग्रेसको पूर्ण समर्थन रहने समेत उल्लेख गर्नुभयो ।
प्रमुख सचेतक थापाले गणतन्त्र दिवसको समारोहमा प्रधानमन्त्रीले सम्बोधन नगर्ने बिषय गैर जिम्मेवार भएको टिप्पणी गर्नुभयो । प्रधानमन्त्रीले सम्बोधन गर्न नसक्नुको कारणबारे जानकारी गराउन सक्नुपर्ने उहाको भनाइ छ । संसदीय दलको बैठकमा संसदमा पार्टीको भूमिकालाई अझै शसक्त र प्रभावकारी बनाउने बिषयमा छलफल भएको उहाले जानकारी दिनुभयो ।
बजेटमा सरकारले भौतिक पूर्वाधारलाई भन्दा पनि स्वास्थ्य र शिक्षा क्षेत्रलाई बढी प्राथमिकता दिनुपर्ने सुझावहरु आएको थापाले बताउनुभयो । त्यस्तै बैठकमा संसदीय दललाई पूर्णता दिने र बिषयगत समितिको अध्ययनका लागि जिम्मेवारी दिने बिषयमा छलफल भएको उहाको भनाइ छ ।






































