खेलकुद
पोखरा स्पोर्ट्स अवार्डमा टेनिसका प्रदीप खड्का र एथलेटिक्सकी नारायणी भण्डारी वर्ष खेलाडी घोषित

परशुराम शर्मा, पोखरा । १० औं पोखरा स्पोट्र्स अवार्डमा टेनिसका प्रदीप खड्का र एथलेटिक्सकी नारायणी भण्डारी वर्ष खेलाडी घोषित भएका छन् ।
नेपाल खेलकुद पत्रकार मञ्च गण्डकी आयोजनामा आयोजित समारोहमा वर्ष उत्कृष्ट पुरुषतर्फ खड्का र महिलातर्फ भण्डारी घोषित हुँदै अवार्डसहित हिरोको जुम स्कुटर प्राप्त गरेका छन् । पुरुषतर्फ उत्कृष्ट ३ मनोनयनमा जुडोका विज्ञान टि खत्री र भलिबलका सञ्जुविक्रम शाह पनि प्रतिस्पर्धामा थिए । महिलातर्फ भण्डारीसँगै जुडोकी मनीषा तामाङ र आर्चरीकी मोनिका रानामगर मनोनयनमा परेका थिए ।लामो समयदेखि टेनिस खेलिरहेका पोखराका प्रदीप खड्का उदीयमान र वर्ष खेलाडी गरी लगातार छैटौं पल्टसम्म पोखरा स्पोर्टस् अवार्डमा मनोनयनमा पर्ने एकमात्र खेलाडी हुन् । उनी यसअघि छैटौं संस्करणका पनि वर्ष खेलाडी हुन् । यसैगरी, भलिबल खेलाडी राजन दर्लामी मगर पिलल च्वाइसमा परे । उनले अवार्डसहित जुम स्कुटर प्राप्त गरे । भलिबलका दर्लामीसहित फुटबलका दीप कार्की, एथ्लेटिक्सकी नारायणी भण्डारी, आइटिएफ तेक्वान्दोकी सुस्मिता थापामगर र क्रिकेटका विपीन खत्री मनोनयनमा परेका थिए ।यसैगरी, लाइफटाइफ एचिभमेन्ट अवार्ड एथ्लेटिक्सका खेलाडी टीकाबहादुर बोगटीले प्राप्त गरेका छन् । गोरखाका बोगटीले विगतमा २ पटक ओपम्पिकमा सहभागी बनेका थिए । उनलाई चाँदीको करुवा, अवार्ड, सम्मानपत्र र दोसल्लाले सम्मान गरिएको हो ।
यसैगरी, वर्ष उत्कृष्ट खेल संघमा कास्की जिल्ला क्रिकेट संघ, वर्ष उदीयमान खेलाडी ब्याटमिन्टनकी नीभा राई, स्पेशल अवार्ड पारा खेलाडी सुस्मा तामाङ, वर्ष उत्कृष्ट प्रशिक्षक सिद्धान्त अधिकारी र वर्ष उत्कृष्ट खेल पत्रकार अवार्डबाट दीननाथ बराल सम्मानित भए । उनीहरुले अवार्डसँगै नगद ३ं५ हजार रुपैयाँ र सम्मापत्र प्राप्त गरे ।








































