देश
प्रतिनिधिसभा सदस्यहरुको सपथ र सभाका प्रारम्भीक बैठकका लागि संसद सचिवालयको तयारी कस्तो छ ?

काठमाडौं । संघीय संसद सचिवालयले प्रतिनिधिसभा सदस्यहरुको सपथ र सभाका प्रारम्भीक बैठकका लागि आवश्यक तयारी पुरा गरेको जनाएको छ ।
मंगलबार सिंहदरबारमा निर्माण भइरहेको संसद भवनको हालसम्मको तयारीबारे सञ्चारकर्मीलाई जानकारी गराउदै संसद सचिवालयले सपथ र सभाका प्रारम्भीक बैठकका लागि बहुउद्देश्यीय हलमा आवश्यक सम्पूर्ण तयारी गरिएको जनाएको हो । सचिवालयका अनुसार प्रतिनिधिसभाको मुख्य हल निर्माण नभएका कारण बहुउद्देश्यीय हलमा नै प्रारम्भीक चरणका बैठकहरु बस्ने छन् । त्यसका लागि सिटहरु, रोष्टम, सभामुख आसन, महासचिव, सचिव, सचिवालय बस्ने ठाउँ लगाएतको व्यवस्थापन भइरहेको संघीय संसदका प्रवक्ता एकराम गिरीले जानकारी दिनुभयो ।
उहाले बहुउद्देश्यीय हल नजिकै नयाँ भवनमा नै कार्य व्यवस्था शाखा, कार्यव्यवस्था परामर्श समितिको हल र सभामुख बस्ने कोठाको पनि व्यवस्थापन गरिएको उल्लेख गर्नुभयो । प्रवक्ता गिरीले नयाँ संसद भवनको निर्माणको अवस्था हेर्दा सपथपछि संसदको पहिलो अधिवेशनको सवै बैठकहरु बहुउद्देश्यीय हलमा नै हुने देखिएको बताउनुभयो ।
उहाले बहुउद्देश्यीय हलबाट बैठक सञ्चालन गर्नुपर्दा निकै जटिलताहरु देखा पर्ने भएकाले छिटो भन्दा छिटो संसद भवनको निर्माण कार्य सम्पन्न गर्न सम्बन्धीत निकायलाई अनुरोध गरिरहेको बताउनुभयो । नवनिर्वाचित प्रतिनिधिसभा सदस्यहरुको सपथ यहि चैत्र १२ गते बहुउद्देश्यीय हलमा नै हुने संसद सचिवालयले जनाएको छ ।









































