
काठमाडौं । भदौ २३ र २४ को घटनासम्बन्धी जाँचबुझ आयोगले सरकारलाई प्रतिवेदन बुझाएको छ ।
आइतबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आयोगले प्रधानमन्त्री सुशीला कार्कीलाई करिव एक हजार पृष्ठको अन्ति प्रतिवेदन बुझाएको हो । पूर्वन्यायाधीश गौरीबहादुर कार्कीको संयोजकत्वमा गठित आयोगमा नेपाल प्रहरीका पूर्वप्रहरी अतिरिक्त महानिरीक्षक विज्ञानराज शर्मा र कानुनविद् विश्वेश्वरप्रसाद भण्डारी सदस्य हुनुहुन्थ्यो ।
प्रधानमन्त्री कार्की समक्ष प्रतिवेदन पेस गरेपछि आयोगका सदस्य एवं प्रवक्ता शर्माले करिब दुई जनालाई सोधपुछ गरिएको र विज्ञहरुसँग पनि राय लिएर प्रतिवेदन तयार गरिएको जानकारी दिनुभयो । उहाले भाद्र २३ र २४ गते घटेको घटनाको अध्ययन र विश्लेषणका आधारमा दोषीमाथि कारबाहीको सिफारिस गरिएको बताउनुभयो ।
जाँचबुझ आयोगको प्रतिवेदन बुझेपछि प्रधानमन्त्री कार्कीले अध्ययन गरेर मन्त्रिपरिषद्मार्फत आवश्यक प्रक्रिया अघि बढाउने बताउनुभएको थियो । विवरण हेरेर पूरै दस्तावेज तत्कालै सार्वजनिक गर्न नसके निचोड मात्र भए पनि सार्वजनिक गर्ने प्रधानमन्त्री कार्कीको भनाइ छ । त्यस्तै आयोगका अध्यक्ष गौरीबहादुर कार्कीले आफूहरूले इमानदारीसाथ काम गरेको र बिनाकुनै पूर्वाग्रह प्रतिवेदन तयार गरेको बताउनुभएको थियो ।









































