
परशुराम शर्मा, कास्की । प्रधानमन्त्री सुशीला कार्कीले आसन्न निर्वाचनमा सक्रिय र जिम्मेवार सहभागीताका लागि सवैलाई आह्वान गर्नुभएको छ ।
शुक्रबार पोखरामा पोखरा विश्वविद्यालयको २१औँ दीक्षान्त समारोहलाई सम्बोधन गर्दै विश्वविद्यालयका कुलपतिसमेत रहनुभएका प्रधानमन्त्री कार्कीले लोकतन्त्र सुदृढीकरण, सुशासन प्रवद्र्धन तथा भ्रष्टाचारमुक्त राष्ट्र निर्माणका लागि आसन्न निर्वाचन अत्यन्त महत्वपूर्ण अवसर भएकाले यस लोकतान्त्रिक प्रक्रियामा सक्रिय र जिम्मेवार सहभागिताका लागि सबैलाई आह्वान गर्नुभएको हो ।
उहाँले भदौ २३ र २४ गते जेनजी युवाले उठाएका आवाजहरु धेरै गहन र आधारभूत सवालसँग जोडिएका बताउनुभयो । उहाले समकालीन समाजको आवश्यकताअनुसार सीप, रोजगारी, उद्यमशीलता, नवप्रवर्तन तथा नैतिकवान् जनशक्ति उत्पादनतर्फ उन्मुख हुनुपर्नेमा जोड दिनुभयो ।
विश्वविद्यालयहरुले नवीन प्रविधि विकास, अनुसन्धानमा आधारित प्राज्ञिक क्रियाकलापमा बढावा दिनु आवश्यक रहेको उहाको भनाइ छ । प्रधानमन्त्री कार्कीले उहाँले विश्वविद्यालयका कार्यक्रमलाई अर्थतन्त्र सुदृढीकरणसँग प्रत्यक्ष जोड्न सक्नुपर्नेमा समेत जोड दिनुभयो ।
समारोहमा प्रधानमन्त्रीले विद्यार्थीलाई दीक्षित गराउनुका साथै उत्कृष्ट विद्यार्थीलाई विभिन्न पदकबाट पुरस्कृत गर्नुभएको थियो ।







































