
यमनका इरान समर्थित हुथी विद्रोहीले इजरायलमाथि मिसाइल आक्रमण गरेपछि मध्यपूर्व क्षेत्रमा तनाव थप चर्किएको छ र विश्व व्यापारमा असर पर्ने चिन्ता बढेको छ ।
हुथी समूहले शनिबार दक्षिणी इजरायलका ‘संवेदनशील सैन्य स्थल’ लक्षित गर्दै मिसाइल प्रहार गरेको दाबी गरेको छ । यद्यपि इजरायली सेनाले यमनबाट प्रहार गरिएको एक मिसाइललाई अवरोध गरेको जनाएको छ ।
इजरायली सैन्य प्रवक्ताले देश बहुपक्षीय युद्धको सम्भावनाका लागि तयारी अवस्थामा रहेको बताउनुभएको छ । हुथी इरानको ‘प्रतिरोध अक्ष’ अन्तर्गतका महत्वपूर्ण सहयोगी मानिन्छन् । यस समूहले यमनको राजधानी सना र देशको ठूलो उत्तरी क्षेत्र नियन्त्रणमा राखेको छ र सन् २०१४ देखि अन्तर्राष्ट्रिय रूपमा मान्यता प्राप्त सरकार विरुद्ध गृहयुद्ध लड्दै आएको छ ।









































