
काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी(नेकपा)ले आसन्न प्रतिनिधिसभा निर्वाचनलाई सफल बनाउन आह्वान गरेको छ ।
बिहीबार पार्टी कार्यालय पेरिसडाँडामा पत्रकार सम्मेलन गर्दै नेकपाले लोकतन्त्रको सुदृढीकरण र विकासको यात्रामा अगाडि बढ्न आगामी निर्वाचन निकै महत्वपूर्ण भएको भन्दै निर्वाचनलाई सफल बनाउन आह्वान गरेको हो । नेकपाले राष्ट्रिय स्वाधीनता र स्वाभिमानको रक्षाका निम्ति त्यही दृढताका साथ उभिने प्रतिबद्धता समेत जनाएको छ ।
मुलुकको व्यवस्थाबिरुद्ध अहिले पनि विरुद्ध अनेक प्रकारका षड्यन्त्र भएरहेकाले अहिलेकै प्रणालीमार्फत सबै षड्यन्त्रहरूलाई परास्त गर्दै यसलाई सुदृढ र स्थिर बनाउँदै समाजवादी लोकतन्त्रको रूपमा विकास गर्न चाहेको नेकपा संयोजक पुष्पकमल दाहाल प्रचण्डले बताउनुभयो । उहाले असहज परिस्थीतिमा हुन लागेको निर्वाचनलाई सफल पार्नु सवैको दायित्व भएको धारणा राख्नुभयो । प्रचण्डले जेनजी आन्दोलनका क्रममा युवाहरुलाई निर्ममतापूर्वक ज्यान लिने र दुईतिहाइको अहंकारले भ्रष्टाचारीलाई संरक्षण गर्ने प्रवृतिले निर्वाचनका बेला समेत आत्मसमीक्षा गर्न तयार नभएको उल्लेख गर्नुभयो । त्यस्तै जेनजी आन्दोलनको नैतिक जिम्मेवारी समेत लिन तयार नहुने अर्को प्रवृतिबिरुद्ध समेत नेकपा सुरुदेखि नै संघर्षमा रहेको उहाले बताउनुभयो । उहाले दुवै गलत प्रवृति अहिले निर्वाचनको प्रक्रियामा समेत रहेकाले नेकपा राष्ट्रको स्वाधीनतालाई रक्षा गर्ने उदेश्यका साथ निर्वाचनमा होमिएको जिकिर गर्नुभयो । उहाले आसन्न निर्वाचनमा कुनै पनि दलसंग समिकरण नगर्ने स्पष्ट पार्नुभयो ।
नेकपाले संविधान कार्यान्वयनको गम्भीर समीक्षा एवं पुनरावलोकन गरेर शासकीय स्वरूपलगायत विभिन्न पक्षमा परिमार्जन गर्ने, निर्वाचन प्रणालीलाई परिवर्तन गरेर सरल र कम खर्चिलो बनाउने, एक उच्चस्तरीय सम्पत्ति छानबिन आयोग गठन गरेर आजसम्म सार्वजनिक पद धारण गरेका सबै व्यक्तिको सम्पत्ति छानबिन गर्ने सवालमा प्रतिवद्ध रहेको जनाएको छ ।






































