
काठमाडौं । ग्यासको नियमित आपूर्ति सुनिश्चित गर्न नसकेको र समस्या समाधानका क्रममा गैरजिम्मेवार तथा धम्कीपूर्ण अभिव्यक्ति दिएको भन्दै जेनजी मुभमेन्ट नेपालले उद्योगमन्त्री गौरी कुमारी यादवलाई तत्काल पदबाट बर्खास्त गर्न सरकारसँग माग गरेको छ।
मुभमेन्ट नेपालका प्रवक्ता विजय शाहद्वारा जारी प्रेस वक्तव्यमा ग्यासजस्तो अत्यावश्यक वस्तुको सहज आपूर्ति सुनिश्चित गर्नु सरकारको आधारभूत दायित्व भए पनि नागरिकहरू अभावका कारण कठिनाइ भोगिरहेका बेला सम्बन्धित मन्त्रीबाट असंवेदनशील र धम्कीपूर्ण अभिव्यक्ति आउनु आपत्तिजनक भएको उल्लेख गरिएको छ।
समस्या समाधान गर्न नसकेपछि आफ्नो जिम्मेवारी स्वीकार गर्नुको सट्टा मन्त्रीपदमा बसेर कर्मचारी तथा उद्योगी–व्यवसायीलाई दोषारोपण गर्दै आफू उम्किन खोज्नु अझ लज्जास्पद विषय भएको मुभमेन्टले जनाएको छ। जिम्मेवार मन्त्रीले समस्याको दोष अरूमाथि थोपर्ने नभई समाधानको नेतृत्व गर्नुपर्ने र असफल भए त्यसको राजनीतिक जिम्मेवारी लिनुपर्ने उसको भनाइ छ।
ग्यासको नियमित आपूर्ति सुनिश्चित गर्न नसकेको, समस्या समाधानको नेतृत्व गर्न असफल भएको तथा गैरजिम्मेवार र धम्कीपूर्ण अभिव्यक्ति दिएको राजनीतिक जिम्मेवारी लिँदै मन्त्री यादवलाई तत्काल बर्खास्त गर्न मुभमेन्टले जोडदार माग गरेको छ।
“जनताको चुलो निभाएर सत्ता चलाउन सकिँदैन। जिम्मेवारीबाट भागेर र कर्मचारी तथा उद्योगीलाई दोष थोपरेर जनताको आक्रोश रोक्न सकिँदैन,” वक्तव्यमा भनिएको छ।







































