जोडिनुहोस
  • होमपेज
  • नारायणी नदी आसपासका क्षेत्रमा ४२ प्रजातिका चरा भेटिए

नारायणी नदी आसपासका क्षेत्रमा ४२ प्रजातिका चरा भेटिए

मध्यविन्दु (नवलपरासी)। यस वर्षको जलपक्षी गणनाका क्रममा नारायणी नदी क्षेत्रमा ४२ प्रजातिका चरा भेटिएका छन् । चितवन राष्ट्रिय निकुञ्ज पश्चिम सेक्टरका पक्षी गणना संयोजक डिबी चौधरीले यस वर्ष नारायणी नदी क्षेत्रमा ४२ प्रजातिका चरा भेटिएको जानकारी दिनुभयो ।

“गत वर्षको पक्षी गणनामा ४१ प्रजातिका पक्षी भेटिएका थिए, यसपालिको गणनामा नारायणी नदी क्षेत्रमा ४२ प्रजातिका पक्षी भेटिएका छन्”, उहाँले भन्नुभयो, “गत वर्षकोभन्दा यस वर्ष चराको सङ्ख्या र प्रजाति वृद्धि भएको छ ।”

चितवन राष्ट्रिय निकुञ्जको पश्चिम सेक्टरको नारायणी नदी र आसपासको सिमसार क्षेत्रमा गत वर्षभन्दा बढी चरा फेला परेका छन् । नारायणी नदी र आसपासका क्षेत्रमा विज्ञ समूहले गरेको चरा गणनाको एकीकृत तथ्याङ्कअनुसार यस वर्ष नारायणी क्षेत्रमा ४२ प्रजातिका १२ हजार ८८७ चरा भेटिएको संयोजक चौधरीले जानकारी दिनुभयो ।

“सन् २०२४ मा ४१ प्रजातिका नौ हजार ५४८ र सन् २०२४ मा ४१ प्रजातिका १० हजार २५७ चरा गणना गरिएको थियो”, उहाँले भन्नुभयो, “यस वर्ष विगत केही वर्षको तुलनामा थप एक प्रजातिको चरा भेटिएको छ भने सङ्ख्या धेरै देखिएको छ ।”

नेपालमा ९०३ प्रजातिका पक्षी सुचीकृत भएका छन् । तीमध्ये जल क्षेत्रमा १६२ प्रजातिका चरा पाइन्छन् । तीमध्ये नारायणी नदी क्षेत्रमा यस वर्ष उक्त प्रजाति फेला परेका संयोजक चौधरीले बताउनुभयो । नवलपरासी (बर्दघाट सुस्तापूर्व)तर्फको चितवन राष्ट्रिय निकुञ्ज र नारायणी नदी तथा सिमसार क्षेत्रमा पाँच समूह बनाएर चरा गणना गरिएको थियो ।

सिघ्रौलीबाट अमलटारी, सिघ्रौलीबाट पिठौली, पिठौलीबाट अमलटारी र अमलटारीबाट त्रिवेणी गण्डक ब्यारेजसम्म गरी पाँच समूहमा चरा गणना गरिएको हो । गत वर्षको तुलनामा यस वर्ष चराको समग्र सङ्ख्या तीन हजार ३३९ ले बढेको प्रारम्भिक अनुमान गरिएको संयोजक चौधरीले जानकारी दिनुभयो । उहाँका अनुसार साइबेरियालगायत उत्तरी गोलार्द्धबाट चिसो छल्न यहाँ आउने पाहुना चरामध्ये यस वर्ष सबैभन्दा बढी सङ्ख्यामा खोया हाँस देखिएका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका