
काठमाडौं । डिशहोम डिजिटल प्रा। लि। अन्तर्गत सञ्चालित ‘डिगो ओटीटी’ नेपाल सरकारबाट आधिकारिक रूपमा ओटीटी लाइसेन्स प्राप्त गर्ने पहिलो नेपाली प्लेटफर्म बनेको छ ।
नेपाल सरकारको सञ्चार तथा सूचना प्रविधि मन्त्रालय अन्तर्गतको सूचना तथा प्रसारण विभागबाट प्रचलित राष्ट्रिय प्रसारण नियमावलीबमोजिम डिगोले ओटीटी प्रसारण सेवासम्बन्धी इजाजत प्राप्त गरेको हो ।
यस इजाजतसँगै कम्पनीले नेपालको प्रचलित कानुनी तथा नियामकीय व्यवस्थाअनुरूप आधिकारिक रूपमा आफ्नो सेवा सञ्चालन गरिरहेको तथ्यलाई थप सुदृढ बनाएको छ ।
आधिकारिक विश्वव्यापी ओटीटी स्ट्रिमिङ अधिकार प्राप्त गरेसँगै डिगो ओटीटीले नेपाली डिजिटल मनोरञ्जन क्षेत्रलाई अन्तर्राष्ट्रिय स्तरमा थप सशक्त बनाउने आधार तयार गरेको जनाएको छ । यस अधिकारले अन्तर्राष्ट्रिय मापदण्डअनुरूप आधिकारिक डिजिटल सामग्री वितरण गर्ने कम्पनीको क्षमता, विश्वसनीयता र दीर्घकालीन प्रतिबद्धतालाई पुष्टि गरेको कम्पनीले जनाएको छ ।
एक सदस्यतामा आधारित डिजिटल स्ट्रिमिङ प्लेटफर्मका रूपमा डिगो ओटीटीले दर्शकहरूलाई सुरक्षित, सहज तथा आधिकारिक माध्यमबाट विभिन्न गुणस्तरीय सामग्रीहरू उपलब्ध गराउँदै आएको छ । यस प्लेटफर्ममा हाल चलचित्र र वेब सिरिज, टेलिभिजन कार्यक्रम र प्रत्यक्ष प्रसारण, खेलकुद तथा वृत्तचित्र, बाल सामग्रीहरू रहेका छन् ।
कम्पनीले आगामी दिनहरूमा अत्याधुनिक प्रविधि, उत्कृष्ट प्रयोगकर्ता अनुभव, आधिकारिक डिजिटल सामग्री तथा अन्तर्राष्ट्रिय साझेदारीमार्फत डिगो ओटीटीलाई विश्वस्तरमा प्रतिस्पर्धी नेपाली डिजिटल स्ट्रिमिङ प्लेटफर्मका रूपमा विकास गर्दै लैजाने प्रतिबद्धता जनाएको छ ।







































