जोडिनुहोस
  • होमपेज
  • जनताले राखेको अपेक्षा पूरा गर्नेतर्फ तीनै तहका सरकार गम्भीर हुने राष्ट्रपतिको विश्वास

जनताले राखेको अपेक्षा पूरा गर्नेतर्फ तीनै तहका सरकार गम्भीर हुने राष्ट्रपतिको विश्वास

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले सार्वजनिक स्रोतसाधनको सदुपयोग, भ्रष्टाचारप्रति शून्य सहनशीलता, कानुनको शासन र नैतिक आचरण सुशासनका आधार भएको बताउनुभएको छ ।

दक्षिणकाली नगरपालिकाको नवनिर्मित प्रशासकीय भवनको बुधबार उद्घाटन गर्दै राष्ट्रपति पौडेलले सो धारणा व्यक्त गर्नुभएको हो । “सार्वजनिक स्रोतसाधनको सदुपयोग, भ्रष्टाचारप्रति शून्य सहनशीलता, कानुनको शासन र नैतिक आचरण सुशासनका आधार हुन् । सङ्घीय लोकतान्त्रिक गणतन्त्र ल्याउन नेपाली जनताले गरेको त्याग र बलिदानको उद्देश्य पनि यही नै हो”, उहाँले भन्नुभयो । त्यसैले, जनताले राखेको अपेक्षा पूरा गर्नेतर्फ तीनै तहका सरकार गम्भीर हुने विश्वास उहाँले व्यक्त गर्नुभयो ।

उहाँले जनप्रतिनिधि तथा राष्ट्रसेवक कर्मचारीहरूलाई सार्वजनिक पद र जिम्मेवारीलाई व्यक्तिगत सुविधा वा अधिकारका रूपमा नभई जनताको सेवा गर्ने अवसर र दायित्वका रूपमा लिन आग्रह गर्नुभयो ।
“प्रशासनिक भवन केवल भौतिक संरचना मात्र होइनस यो जनताको सेवा प्राप्त गर्ने विश्वासको केन्द्र, लोकतान्त्रिक शासनव्यवस्थाको स्थानीय आधारस्तम्भ र नागरिकका आकाङ्क्षा सम्बोधन गर्ने सार्वजनिक संस्थाको प्रतीक पनि हो”, राष्ट्रपति पौडेलले भन्नुभयो । उहाँले भवनबाट प्रवाह हुने सेवा छिटो, छरितो, पारदर्शी, जवाफदेही र नागरिकमैत्री बन्न सकोस् भन्ने विश्वास व्यक्त गर्नुभयो ।

प्रशासनिक भवन आधुनिक हुनुका साथसाथै प्रशासनिक कार्यशैली पनि आधुनिक, प्रविधिमैत्री, पारदर्शी र परिणाममुखी हुन आवश्यक रहेको उहाँको भनाइ थियो । “सूचना प्रविधिको अधिकतम प्रयोग, अभिलेख व्यवस्थापन, डिजिटल सेवा र गुनासो सुनुवाइ प्रणालीलाई प्रभावकारी बनाउनु आजको आवश्यकता हो”, राष्ट्रपति पौडेलले भन्नुभयो ।

दक्षिणकालीलाई धार्मिक पर्यटनसँगै प्रकृति, संस्कृति र स्थानीय उत्पादनमा आधारित पर्यटनको आकर्षक गन्तव्यका रूपमा विकास गर्न सकिने प्रशस्त सम्भावना रहेकाले यसतर्फ ध्यान दिन उहाँले आग्रह गर्नुभयो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका