जोडिनुहोस
  • होमपेज
  • घरेलु तथा साना उद्योग महासंघले भेट्यो कार्यवाहक प्रधानमन्त्री वाग्ले

घरेलु तथा साना उद्योग महासंघले भेट्यो कार्यवाहक प्रधानमन्त्री वाग्ले

काठमाडौं । नेपाल घरेलु तथा साना उद्योग महासंघले लघु, घरेलु तथा साना उद्योग (एमएसएमई) क्षेत्रलाई राष्ट्रिय प्राथमिकतामा राख्न सरकारसँग माग गरेको छ ।
महासंघले कार्यवाहक प्रधानमन्त्री तथा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेसमक्ष आगामी १० वर्षलाई ‘एमएसएमई डेभलपमेण्ट डिकेड’ घोषणा गर्नुपर्ने, सहुलियतपूर्ण तथा बिनाधितो कर्जा उपलब्ध गराउनुपर्ने र नयाँ उद्योगलाई कर सहुलियत दिनुपर्ने सुझाव पेश गरेको छ ।
त्यस्तै, सार्वजनिक खरिदमा कम्तीमा ३० प्रतिशत स्वदेशी एमएसएमई उत्पादनलाई प्राथमिकता, मेड इन नेपाल अभियान, निर्यात सहजीकरण तथा आधुनिक प्रविधि भित्र्याउन सरकारी अनुदानको व्यवस्था गर्न महासंघले माग गरेको छ ।
महासंघले महिला तथा वैदेशिक रोजगारीबाट फर्किएका युवाका लागि विशेष उद्यमशीलता प्याकेज, ‘१०० स्टार्टअप–१०० इन्भेष्टर’ कार्यक्रम तथा उद्योगसम्बन्धी सरकारी सेवा छिटोछरितो बनाउन “फास्ट–ट्रयाक इन्डष्ट्रियल सर्भिस” लागू गर्न पनि प्रस्ताव गरेको छ ।
सरकार, निजी क्षेत्र र सरोकारवालाबीच सहकार्यबाट उत्पादन, रोजगारी र निर्यात बढाउँदै आत्मनिर्भर अर्थतन्त्र निर्माण गर्न सकिने महासंघको भनाइ छ ।
महासंघका मागलाई सम्बोधन गर्दै कार्यवाहक प्रधानमन्त्री वाग्लेले लघु, घरेलु तथा साना उद्योग (एमएसएमई) क्षेत्र सरकारको प्राथमिकतामा रहेको बताउनुभयो ।
बाढीपीडितलाई महासंघको सहयोग
महासंघले सो अवसरमा बाढी प्रभावित परिवारहरूको राहतका लागि पाँच लाख ५५ हजार ५५५ रुपियाँ सहयोग गरेको छ ।
महासंघकी अध्यक्ष शोभा गुरुङले उक्त सहयोग रकम कार्यवाहक प्रधानमन्त्री तथा अर्थमन्त्री डा. वाग्लेज्यूलाई हस्तान्तरण गर्नुभयो । सहयोग रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिएको हो ।
पीडित परिवारका लागि आवश्यक सामग्रीहरू समेत संकलन गरीरहेको महासंघले छिट्टै प्रभावित क्षेत्रमा वितरण गरिने जनाएको छ ।
महासंघकी अध्यक्ष शोभा गुरुङको अध्यक्षतामा गएको प्रतिनिधिमण्डलमा महासंघका सल्लाहकार वासु गिरी, वरिष्ठ उपाध्यक्ष डम्बर प्रसाद रेग्मी, उपाध्यक्षहरु हरिहर थापा, मोहन कटुवाल, सत्यनारायण प्रजापति, जानकी प्रधान, गुणराज ढकाल, महासंघ महिला उद्यमी समितिकी अध्यक्ष रिता अवाल, महासंघका महासचिव विनोददेव पन्त, कोषध्यक्ष विरेन्द्र जत्तिलगायतको उपस्थिति रहेको थियो ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका