
काठमाडौं । स्वर्गीय जनकवि दुर्गालाल श्रेष्ठको स्मृतिमा ‘अक्षरयात्रा–दशक आठ’ समारोहको आयोजना गरिएको छ ।
बसन्त चौधरी फाउण्डेशन र दुर्गालाल साहित्य प्रतिष्ठानको संयुक्त आयोजनामा स्वर्गीय जनकवि दुर्गालाल श्रेष्ठको ४५औँ दिनको पुण्यतिथिको अवसरमा विशेष सम्मान र स्मृतिमा कार्यक्रम आयोजना गरिएको हो । कार्यक्रममा जनकवि दुर्गालाल श्रेष्ठको वृत्तचित्र ‘अक्षरयात्रा ः दशक आठ’ प्रस्तुत गरिएको थियो ।
त्यसैगरी ‘६ नवकृतिः अक्षरका छ नयाँ दीप’ अन्तर्गत श्रव्यदृश्य अनावरण तथा समीक्षा, जनकवि दुर्गालाल श्रेष्ठको कविता वाचन तथा कविता प्रस्तुति पनि गरिएको थियो । कार्यक्रममा ‘अक्षरमहर्षि सम्मान’ अर्पण गरियो । कार्यक्रममा कवि बसन्त चौधरीद्वारा अक्षराञ्जली समर्पण स्मृति कथन तथा रुबाई प्रतुति गरिएको थियो । स्वर्गीय जनकवि दुर्गालाल श्रेष्ठको जन्म विं सं. १९९२ सालमा काठमाडौंमा भएको थियो । आमा आशामोती श्रेष्ठ र बुबा गणेशलाल श्रेष्ठका सुपुत्र दुर्गालाल श्रेष्ठले पद्मोदय माध्यमिक विद्यालयबाट विद्यालय तहको शिक्षा हासिल गर्नुभएको हो । उहाँले सन् १९४९ मा आफ्नो लेखनयात्रा सुरु गर्नुभएको थियो । उहाँको पहिलो कविता ‘दुइथोपा’ सन् १९५२ मा सुस्केरा पत्रिकामा प्रकाशित भएको थियो । उहाँका छ दर्जनभन्दा बढी कृति प्रकाशित छन् भने आज उहाँको ६ वटा कृति लोकार्पण गरिएको थियो ।
उहाँको साउन ३१ गते आइतबार बूढानीलकण्ठस्थित आफ्नै निवासमा स्वर्गारोहण भएको थियो ।









































