राजनीति
सभामुख छलफल–नियमित रुपमा प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम राख्न बिपक्षी दलको माग

काठमाडौं । संघीय संसदमा प्रतिनिधित्व गर्ने बिपक्षी दलहरुले नियमित रुपमा प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम राख्न सभामुख डोल प्रसाद अर्यालको ध्यानाकर्षण गराएका छन् ।
मंगलबार सिंहदरबारमा आगामी प्रतिनिधिसभा बैठकको तयारीका बिषयमा सभामुख अर्यालले दलका प्रमुख सचेतक र सचेतकसँग गर्नुभएको छलफलका क्रममा बिपक्षी दलका प्रमुख सचेतकहरुले सरकारसंग सांसदहरुको धेरै प्रश्न रहेकाले नियमित रुपमा प्रश्नोत्तर कार्यक्रम राख्न ध्यानाकर्षण गराएका हुन् । छलफलपछि कांग्रेस प्रमुख सचेतक वासना थापाले प्रतिनिधिसभा बैठकको क्यालेन्डर बनाउने र संसदीय प्रक्रियालाई मर्यादित बनाउने भन्ने विषयमा छलफल भएको जानकारी दिनुभयो ।
उहाले सीमा विवादको सम्बन्धमा प्रधानमन्त्रीबाट स्पष्ट जवाफ नआएसम्म विरोध कायमै रहने समेत जानकारी गराउनुभएको थियो । प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम आफुहरुले सुझाव दिएको भन्दै उहाले सत्ता पक्षका प्रमुख सचेतकले प्रधानमन्त्रीसँग छलफल गराउने प्रतिबद्धता सभामुखमार्फत व्यक्त गरेको बताउनुभयो ।
त्यस्तै नेकपाका प्रमुख सचेतक युवराज दुलालले नियमावली अनुसार महिनाको पहिलो हप्ता प्रधानमन्त्रीले सांसदहरूका प्रश्नको उत्तर दिने व्यवस्थालाई कडाइका साथ लागू गर्न ध्यानाकर्षण गराइएको जानकारी दिनुभयो । कानुन मन्त्रीले प्रतिबद्धता जनाए पनि १४ गतेबाट सुरु हुने बैठकका लागि अहिलेसम्म एउटा पनि नयाँ विधेयक दर्ता नभएकोप्रति आफुहरुले ध्यानाकर्षण गराएको उहाले बताउनुभयो ।
छलफलपछि रास्वपा सचेतक प्रकाशचन्द्र परियारले भने सरकारले संसदलाई पर्याप्त बिजनेस उपलब्ध गराएकाले दसैँ अघिसम्म संसद निरन्तर र सुचारु रूपमा चल्ने दावी गर्नुभयो । संसदको मर्यादा, मूल्य, मान्यता र परिणाममुखी सञ्चालनका लागि सवै दलहरु संवेदनशील र जिम्मेवार हुने छलफलको निष्कर्ष रहेको उहाले बताउनुभयो । उहाले पछिल्लो समय आकस्मिक समयको प्रयोग गरेर मूल विषयभन्दा बाहिर जाने र टिकाटिप्पणी हुने प्रवृत्ति बढेकाले त्यसमा सुधार ल्याउने सहमति भएको जानकारी दिनुभयो ।
सो क्रममा सभामुख अर्यालले मर्यादीत ढंगले सदनको कामकारवाहीलाई अघि बढाउन आग्रह गर्नुभएको थियो । करिव दुई साताका लागि स्थगित भएको प्रतिनिधिसभाको बैठक यहि साउन १४ गते बस्दैछ ।









































