
काठमाडौं । नेपाल प्रहरी र फ्रिडम स्टुडियोको सहकार्यमा नेपाल प्रहरी हेडक्वार्टर नक्सालको बाहिरी भित्तामा प्रहरी नागरिक सम्बन्ध सुदृढीकरणका लागि भित्तेचित्र निर्माण सम्पन्न भएको छ । यो नेपाल प्रहरीको ईतिहासमा प्रहरी नागरिक सम्बन्ध सुदृढीकरण, सार्वजनीक स्थानको सौन्दर्य अभिवृद्धि तथा जनचेतना प्रवर्धनकालागि नागरिक समाजसँगको सहकार्यमा गरिएको पहिलो भित्तेचित्र भएको फ्रिडम स्टुडियोले जनाएको छ ।
‘सुरक्षा निकाय र समुदायबीच पारदर्शिता, उत्तरदायित्व र सहकार्य अपरिहार्य तत्व हुन् भन्ने सन्देशलाई कलामार्फत सार्वजनिक बहसमा रूपान्तरण गर्ने हाम्रो प्रयास रहेको छ। देशको समग्र हित, सामाजिक सद्भाव र लोकतान्त्रिक संस्कृतिको सुदृढीकरणका लागि सकारात्मक संवाद आवश्यक छ भन्ने विश्वासका साथ हामीले यो पहल अघि बढाएका हौँ। कला केवल सौन्दर्यको माध्यम मात्र नभई सामाजिक रूपान्तरणको उपकरण पनि हो। त्यसैले यो म्युरलले “हाम्रो प्रहरी” भन्ने अवधारणालाई व्यवहारिक रूपमा स्थापित गर्दै प्रहरी–नागरिक सम्बन्धलाई विश्वास, सहकार्य र साझा जिम्मेवारीमा आधारित बनाउने सन्देश प्रवाह गर्ने लक्ष्य राखेको छ।’ फ्रिडम स्टुडियोका आरब्ध तिमिल्सिनाले भन्नुभयो ।
“पोस्ट–जेन जेड आन्दोलनपछि सिर्जना भएको परिस्थिति सन्दर्भमा, यो म्युरलमार्फत हामी प्रहरी र नागरिकबीच संवादको पुल बन्ने प्रयासमा छौँ। देशको समग्र हित, आपसी विश्वास र सहकार्यलाई सुदृढ बनाउन कला माध्यमबाट सकारात्मक सन्देश प्रवाह गर्ने हाम्रो उद्देश्य रहेको छ।” फ्रिडम स्टुडियोका संस्थापक युवा अभियन्ता निश्चल खरेलले बताउनुभएको छ ।
फ्रिडम स्टुडियोका ५ चित्रकारको एक साताको योगदानस्वरुप भित्तेचित्रले प्रहरी नागरिक सम्बन्ध सुदृढीकरणमा प्रहरी तत्पर रहेको र हाम्रो प्रहरी भन्ने नाराकासाथ सम्बन्ध सुदृढीकरणमा प्रहरी अग्रसर रहेको प्रहरी वरिष्ठ उपरीक्षक दीप शम्सेर जबरा ले बताउनुभयो ।
साथै जबरा सहितको नेपाल प्रहरी टोलीले बुधबार भित्तेचित्रको उद्घाटन गरी फ्रिडम स्टुडियोका कलाकारहरुको योगदानको उच्च मूल्याङ्कन गर्दै प्रशंसा पत्र प्रदान गिरिएको छ ।





































