
काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन कुमार थापाले अग्रजलाई सम्मान र नयाँलाई उत्साहित बनाएर पार्टीलाई नयाँ उचाईमा पुराइने बताउनुभएको छ ।
बिहीबार कांग्रेस केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले काठमाडौंमा आयोजना गरेको नवीन परिस्थिति, नवीन संकल्प, नवीन अभियान कार्यक्रममा सभापति थापाले पार्टीलाई प्रविधि, आधुनिक चिन्तन र नयाँ पुस्ताको भावना अनुसार अगाडि बढाउनुपर्ने भन्दै अग्रजलाई सम्मान र नयाँलाई उत्साहित बनाएर पार्टीलाई नयाँ उचाईमा पुराइने बताउनुभएको हो । उहाले बीपी स्मृति दिवसको नाममा संस्थापनइतर समूहले गरेको कार्यक्रममा निन्दा प्रतियोगिता चलेको भन्दै कटाक्ष गर्नुभयो । संस्थापनइतर कार्यक्रमलाई
नसुन्नु नै उपयुक्त लागेर आफुले वेवास्ता गरेको उहाको भनाइ छ ।
त्यस्तै सभापति थापाले वर्तमान सरकारको क्रियाकपालप्रति पनि असन्तुष्टि जनाउनुभयो । उहाले प्रधानमन्त्रीलाई कालो चस्मा र कालो वस्त्र लगाउन छुट रहेपनि काला कर्तुत गर्न छुट नरहेको स्पष्ट पार्नुभयो । संवैधानिक निकायलाई आफ्नो दवावमा राख्न खोजेको भन्दै उहाले अख्तियारलाई आफ्नो सचिवालयको छाया बनाउन खोज्नुभएको हो ? भन्दै प्रश्न गर्नुभयो । उहाले सरकार संविधान भन्दा बाहिर हिड्न खोजेको आरोप लगाउनुभयो । सभापति थापाले राहदानी प्रकरणपछि सरकारमाथि केहि प्रश्न उठेको भन्दै संसद खोल्ने बितिकै कांग्रेसले यस बिषयमा सदनमा आवाज उठाउने बताउनुभयो ।
सभापति थापाले विश्वेश्वरप्रसाद कोइरालाको जन्म जयन्तीका अवसर पारेर भाद्र २४ गते ‘एनसी फर एनसी’ नामक नयाँ अभियान सुरु गर्ने घोषणा गर्नुभयो । साथै उहाले बिरामी भएर जटिल अवस्थामा उपचारमा रहनुभएका पूर्वउपसभापति गोपालमान श्रेष्ठलाई वरिष्ठ नेता बनाएको घोषणा गर्नुभयो । उक्त निर्णय आगामी केन्द्रीय समिति बैठकबाट अनुमोदन गराउने उहाले जानकारी दिनुभयो ।







































