
काठमाडौं । नेपाली सेनाको आयोजना तथा नेपाल टेनिस संघको प्राविधिक सहयोगमा सञ्चालन भएको प्रधान सेनापति राष्ट्रिय खुल्ला टेनिस प्रतियोगिता मंगलबार सम्पन्न भएको छ ।
भद्रकालीस्थीत जङ्गी अड्डामा आयोजित समापन समारोहमा प्रधान सेनापतिले प्रतियोगितामा च्याम्पियन हुने त्रिभुवन आर्मी क्लब, पुरुष एकल तथा महिला एकल प्रतियोगिताका विजेता क्रमशः प्रदिप खड्का र सिभाली गुरुङ्गलाई ट्रफि तथा प्रमाण पत्र प्रदान गरेका थिए । समापन समारोहमा प्रतियोगितामा विभिन्न विधाहरूमा उत्कृष्ट हुने खेलाडीहरूलाई समेत पुरस्कार वितरण गरिएको छ।
ज्येष्ठ ०४ गतेबाट सुरु भएको प्रतियोगिता जङ्गी अड्डा र दशरथ रङ्गशालास्थित टेनिस कोर्टमा सञ्चालन भएको थियो। प्रतियोगितामा १२ वटा क्लबका २१८ जना खेलाडीहरूले १३ वटा विधाका खेलहरूमा प्रतिस्पर्धा गरेका थिए।





































