जोडिनुहोस
  • होमपेज
  • उत्सर्जन कटौती सुस्त हुँदा फ्रान्सको जलवायु लक्ष्य सङ्कटमा

उत्सर्जन कटौती सुस्त हुँदा फ्रान्सको जलवायु लक्ष्य सङ्कटमा

फ्रान्सले सन् २०२५ मा लगातार दोस्रो वर्ष पनि हरितगृह ग्यास उत्सर्जन कटौतीको गति कायम राख्न नसकेको देखिएको छ । मङ्गलबार सार्वजनिक गरिएको सरकार–आयोगसँग सम्बन्धित एक अस्थायी पूर्वानुमानअनुसार देशले प्रतिज्ञा गरेका जलवायु लक्ष्यहरू पूरा गर्ने मार्गबाट बाहिरिँदै गएको सङ्केत देखिएको छ ।

फ्रान्सको इकोलोजी मन्त्रालयका लागि देशको ग्रिनहाउस ग्यास सूची तयार पार्ने गैर–नाफामूलक संस्था सिटेपाका अनुसार सन् २०२५ मा उत्सर्जन अघिल्लो वर्षको तुलनामा १.६ प्रतिशतले घट्ने अनुमान गरिएको छ । यसले करिब ५८ लाख टन कार्बन डाइअक्साइड बराबरको कमी जनाउँछ । तर सिटेपाले यो कमी सन् २०३० का लक्ष्य हासिल गर्न आवश्यक पर्ने गतिभन्दा निकै कम भएको र पछिल्ला वर्षहरूमा देखिएको मन्दीलाई थप लम्ब्याएको जनाएको छ ।

फ्रान्स सरकारले डिसेम्बरमा सन् २०५० सम्म कार्बन तटस्थता हासिल गर्ने अद्यावधिक मार्गचित्र सार्वजनिक गरेको थियो । सो लक्ष्यअनुसार सन् २०३० सम्म पुग्न प्रत्येक वर्ष औसतमा ४.६ प्रतिशतका दरले उत्सर्जन घटाउनुपर्ने आवश्यकता छ । तर हालको प्रवृत्तिले त्यो लक्ष्य पूरा गर्न कठिन हुँदै गएको देखिन्छ ।

यसअघि फ्रान्सले सन् २०२२ मा ३.९ प्रतिशत र सन् २०२३ मा ६.८ प्रतिशतले उत्सर्जन कटौती गर्न सफल भएको थियो । तर सन् २०२४ मा यो दर उल्लेखनीय रूपमा घट्दै १.८ प्रतिशतमा सीमित रह्यो । सिटेपाले सुरुमा सन् २०२५ का लागि मात्र ०.८ प्रतिशत कटौतीको अनुमान गरेको थियो । तर पछिल्ला तथ्याङ्क र गणना विधिहरूको अद्यावधिकले पूरै वर्षका लागि ‘अझ सही’ अनुमान सम्भव भएको संस्थाले जनाएको छ ।

उद्योग, कृषि र यातायातजस्ता उच्च उत्सर्जन गर्ने क्षेत्रमा केही सुधार देखिएको भए पनि ऊर्जा उत्पादन र फोहोर प्रशोधन क्षेत्र भने प्रायः स्थिर अवस्थामा रहेको सिटेपाको भनाइ छ । यी क्षेत्रहरूलाई कम कार्बनतर्फ रूपान्तरण गर्नु फ्रान्सजस्ता औद्योगिक देशहरूका लागि ठूलो चुनौती बनेको छ । फ्रान्सलाई कम कार्बन भविष्यतर्फको सङ्क्रमणमा नेतृत्व गर्ने प्रमुख अर्थतन्त्रका रूपमा हेरिँदै आएको छ ।

यो पछिल्लो मूल्याङ्कनले फ्रान्सले जीवाश्म इन्धनको प्रयोगलाई चरणबद्ध रूपमा अन्त्य गर्नुपर्ने आवश्यकतालाई अझ स्पष्ट बनाएको क्लाइमेट एक्सन नेटवर्क फ्रान्सकी निर्देशक एनी ब्रिङ्गल्टले बताउनुभयो । उहाँले भन्नुभयो, “अब जलवायु जोखिमलाई गम्भीरताका साथ लिने समय भइसकेको छ । साथै, हामी जीवाश्म इन्धनमा अत्यधिक निर्भर छौँ, जुन ठूलो मात्रामा आयात गरिन्छ, यसले भूराजनीतिक जोखिम पनि बढाएको छ ।”

विश्व तापक्रम वृद्धिलाई तीव्र बनाउने तातो–ट्र्याप गर्ने उत्सर्जनमा छिटो र गहिरो कटौती गर्न ठूला र ऐतिहासिक रूपमा प्रदूषण गर्ने राष्ट्रहरू बढ्दो दबाबमा छन् । फ्रान्सको अवस्था छिमेकी जर्मनीसँग पनि मेल खान्छ । जर्मनीमा सन् २०२५ मा उत्सर्जन मात्र १.५ प्रतिशतले घटेको भन्दै ऊर्जा नीतिसम्बन्धी विशेषज्ञ समूह एगोरा एनर्जीभेन्डेले गत हप्ता आफ्नो वार्षिक प्रतिवेदनमा उल्लेख गरेको थियो ।

युरोपेली सङ्घ (इयु) ले सन् १९९० को स्तरको तुलनामा सन् २०४० सम्म आफ्नो शुद्ध हरितगृह ग्यास उत्सर्जन ९० प्रतिशतले घटाउने प्रतिबद्धता जनाएको छ । इयुले सन् २०२३ सम्ममा यस दिशामा ३७ प्रतिशत कटौती हासिल गरिसकेको बताइएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका