
काठमाडौं । सशस्त्र प्रहरी बल नेपालका नवनियुक्त महानिरीक्षक नारायणदत्त पौडेललाई दज्र्यानी चिह्न प्रदान गरिएको छ ।
सोमबार गृहमन्त्रालयमा आयोजित कार्यक्रममा गृहसचिव राजकुमार श्रेष्ठले नवनियुक्त महानिरीक्षक पौडेललाई दज्र्यानी चिह्न प्रदान गर्नुभएको हो । सो क्रममा नवनियुक्त महानिरीक्षक पौडेलले सशस्त्र प्रहरी बललाई सुदृढ नेतृत्वका साथ संगठनको मनोबल बढाउँदै परिणाममूखी कार्य गर्ने प्रतिवद्धता जनाउनुभयो । संगठनलाई थप उचाईमा पुराउनका लागि समेत आफुले काम गर्ने उहाले बताउनुभयो । उहाले सरकारको सय बँुदे शासकीय सुधारको कार्ययोजना अनुसार सशस्त्र प्रहरी बलले गर्नुपर्ने कार्यहरुलाई पुरा गर्न योजना तयार गर्दै अघि बढ्ने बताउनुभयो ।
संगठनको आधुनिकीकरण र समयसापेक्ष मार्गनिर्देशनका लागी सकारात्मक एवं रचनात्मक सहयोग हुने उहाको विश्वास छ । पौडेलले बिभिन्न सुरक्षा चुनौतीहरूको सामना गर्न सूचना प्रविधिमा आधारित वैज्ञानिक, द्रुत परिचालनलाई ध्यान दिइने उल्लेख गर्नुभयो ।
त्यस्तै गृहसचिव राजकुमार श्रेष्ठले सशस्त्र प्रहरी बल नेपाललाई प्रभावकारी रुपमा अघि बढाउन थप क्रियाशील हुने विश्वास व्यक्त गर्नुभयो । संगठनभित्र पेशागत दक्षतालाई बृद्धि गर्ने, मर्यादालाई उच्च बनाउने, सुरुवा बढुवाको प्रक्रियालाई व्यवस्थीत पारदर्शी बनाउने कार्यमा सफलता मिल्ने उहाको भनाइ छ ।
वैशाख १४ गते बसेको मन्त्रिपरिषद् बैठकले अतिरिक्त महानिरीक्षक पौडेललाई महानिरीक्षक पदमा बढुवा गर्ने निर्णय गरेको थियो । तत्कालीन महानिरीक्षक राजु अर्यालले वैशाख १८ गतेदेखि अवकास पाउनुुभएको थियो ।









































