
प्यालेस्टिनी सशस्त्र समूह हमासले सोमबार गाजामा आफ्नो सरकार भंग गरेको घोषणा गरेको छ । सरकार भंगको घोषणसँगै संयुक्त राष्ट्रसंघको समर्थन प्राप्त प्राविधिक समितिलाई प्रशासनिक जिम्मेवारी हस्तान्तरण गर्ने तयारी गरेको जनाएको छ । यो कदम अमेरिकी मध्यस्थतामा भएको युद्धविराम सम्झौताको एक हिस्साका रूपमा आएको अन्तराष्टिय सञ्चारमाध्यमहरुले जनाएका छन् । यद्यपि, हमासले आफ्ना हतियार बिसाउने वा सुरक्षाको जिम्मेवारी अन्तर्राष्ट्रिय बललाई हस्तान्तरण गर्नेबारे भने कुनै स्पष्ट प्रतिबद्धता नजनाएको बताइएको छ । समूहले यस निर्णयलाई लामो युद्धपछि गाजाको पुनर्निर्माणप्रतिको आफ्नो प्रतिबद्धताको संकेतका रूपमा प्रस्तुत गरेको छ ।
गाजाको शासन व्यवस्था र पुनर्निर्माणको जिम्मेवारी पाएको तथा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको नेतृत्वमा रहेको नयाँ निकाय ‘बोर्ड अफ पिस’ले हमासको घोषणाबारे आफूहरू जानकार रहेको जनाएको छ । तर, यसले कुनै पनि मूल्यांकन घोषणा वा आश्वासनका आधारमा नभई व्यावहारिक कार्यान्वयनका आधारमा गरिने स्पष्ट पारेको छ ।







































