
काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत देशभर मतदान सुरु भएको छ ।
मुलुकका ७७ वटै जिल्लामा अपराह्न ५ बजेसम्म मतदान प्रक्रिया जारी रहने निर्वाचन आयोगले जनाएको छ । निर्वाचनमा प्रत्यक्षतर्फ ६५ वटा राजनीतिक दल प्रतिष्पर्धामा रहेका छन् । प्रत्यक्षतर्फ तीन हजार १७ पुरुष, ३८८ महिला र एक अन्य गरी तीन हजार ४०६ उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् । यस्तै, समानुपातिक निर्वाचन प्रणालीतर्फ एक हजार ३६३ पुरुष र एक हजार ७७२ महिला गरी तीन हजार १३५ उम्मेदवार प्रतिस्पर्धामा छन् ।
यस पटकको निर्वाचनमा एक करोड ८९ लाख तीन हजार ६८९ मतदाता कायम रहेका छन् । यस्तै, एक लाख ८६ हजार १४२ अस्थायी मतदाता कायम भएको आयोगले जनाएको छ । निर्वाचनका लागि देशभर १० हजार ९६७ मतदानस्थलमा २३ हजार ११२ मतदान केन्द्र निर्धारण गरिएका छन् । यस्तै, १४३ अस्थायी मतदानस्थल तय गरिएका छन् ।
ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति तथा अशक्त र गर्भवतीलगायतलाई सहज मतदानका लागि प्राथमिकता दिने व्यवस्था गरिएको निर्वाचन आयोगले जनाएको छ ।





































