जोडिनुहोस
  • होमपेज
  • ‘मध्यपूर्वमा रहेका नेपालीहरुको सुरक्षा उच्च प्राथमिकतामा’

‘मध्यपूर्वमा रहेका नेपालीहरुको सुरक्षा उच्च प्राथमिकतामा’

काठमाडौं । परराष्ट्र मन्त्रालयले मध्यपूर्वमा रहेका नेपालीहरुको सुरक्षा उच्च प्राथमिकतामा रहेको जनाएको छ ।

आइतबार परराष्ट्र मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा मन्त्रालयको मध्य एसिया, पश्चिम एसिया तथा अफ्रिका महाशाखा प्रमुख रामकाजी खड्काले मध्यपूर्वमा देखिएको पछिल्लो घटनाक्रमपछि अहिले नेपाली नागरिहरुको सुरक्षा नेपाल सरकारको उच्च प्राथमिकतामा रहेको बताउनुभएको हो ।

उहाले इरानमा रहेका १० जनामध्ये ४ जना फर्किसकेको जानकारी दिनुभयो । त्यस्तै इजरायलमा करिब ६ हजार ५ सय, इजिप्टमा पाँच सय, ओमानमा २५ हजार, कतारमा ३ लाख ५७ हजार ९१३, कुवेतमा १ लाख ७५ हजार, बहराइनमा २८ हजार, साउदी अरबमा ३ लाख ८४ हजार ८६५, यूएईमा लगभग ७ लाख, लेबनानमा १ हजार ५ सय, इराकमा ३० हजार र साइप्रसमा १७ हजार नेपालीसहित करिव १७ लाख २९ हजार २८८ जना मध्यपूर्वमा रहेको उहाले बताउनुभयो ।

खड्काले मन्त्रालय र सम्बन्धी क्षेत्रमा रहेका नेपाली नियोगहरुसंग जोडिने गरि ह्वाट्सएप ग्रुप बनाइएको र सम्भावित उद्धारको तयारीस्वरूप अनलाइन रजिस्ट्रेसन प्लेटफर्म विकास गर्न कन्सुलर सेवा विभागलाई निर्देशन दिइसकेको बताउनुभयो ।

त्यसैगरि परराष्ट्र सचिवको संयोजकत्वमा बहु–सरोकारवाला आपतकालीन उद्धार टोली गठन प्रक्रिया सुरु भएको जानकारी दिदै उहाले उक्त टोलीमा परराष्ट्रसचिवको नेतृत्वमा सरोकारवाला संस्थाका प्रतिनिधि रहने जानकारी दिनुभयो । उहाले द्वन्द्वको अवस्था हेरेर छिमेकी मुलुकका साथै सम्बन्धीत देशका अधिकारीले देखाउने तत्परताका आधारमा नेपाल सरकारले पनि आवश्यक कदम चाल्ने बताउनुभयो ।

मध्यपूर्वमा देखिएको समस्याका कारण भिसा र टिकट भइसकेर पनि त्रिभुवन बिमानस्थलमा रोकिनुपर्ने अवस्था, गन्तव्य देशमा पुगेर एयरपोर्टबाट बाहिर निस्कन कठिनाइ, ट्रान्जिटमा अलपत्र परेका यात्रु र गन्तव्य देश पुगे पनि रोजगारदातासम्म पुग्न नसकेका श्रमिकहरु प्रभावित भएको देखिएको मन्त्रालयले जनाएको छ । प्रभावित भएका नेपालीहरुको उद्धार तथा व्यवस्थापनका लागि अन्तर्राष्ट्रिय श्रम संगठनसँग समन्वय गर्ने तयारी भएको समेत मन्त्रालयले जाकारी दिएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका