
काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आपसास क्षेत्रमा एक महिनासम्म निषेधाज्ञा जारी गरिएको छ। विमानस्थल र आसपासको क्षेत्रमा फागुन १ गते प्रदर्शन गर्ने भन्दै केही समूह र राजनीतिक दलबाट विज्ञप्ति जारी भएपछि निषेधाज्ञा जारी गरिएको हो ।
‘विमानस्थल प्रवेश गर्ने गोल्डेन गेटदेखि विमानस्थल परिसर क्षेत्रभित्रको सम्पूर्ण सडक, आन्तरिक टर्मिनल क्षेत्र, अन्तराष्ट्रिय टर्मिनल क्षेत्र, पार्किङ क्षेत्रलगायतको विमानस्थल हाताभित्रको सम्पूर्ण क्षेत्रमा पाँच जनाभन्दा बढी व्यक्ति भेला भई अनसन, धर्ना, घेराउ, जुलुस, प्रदर्शन तथा सभा जस्ता विरोधका कार्यक्रम गर्न निषेधको आदेश जारी गरिएको छ,’ प्रमुख जिल्ला अधिकारी ईश्वरराज पौडेलद्वारा जारी आदेशमा भनिएको छ ।









































