राजनीति
नेकपा एमालेको चूनावी घोषणा पत्र सार्वजनिक
लोकतन्त्रका आधारभूत मूल्य र मान्यतामा सम्झौता हुन नदिने केपी ओलीको भनाइ

काठमाडौं । नेकपा एमालेले समृद्ध नेपाल, सुखी नेपाली–राष्ट्रिय आकांक्षा हाम्रो गन्तव्य मूल नारासहितको चूनावी घोषणापत्र सार्वजनिक गरेको छ ।
बिहीबार काठमाडौंमा आयोजित एक कार्यक्रमकाबीच नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले डिजिटल स्वरुपमा पार्टीको घोषणा पत्र सार्वजनिक गर्नुभएको हो । घोषणापत्रमा एमालेले नेपालको सार्वभौमसत्ता, भौगोलिक अखण्डता, स्वाधीनता, स्वतन्त्रता एवं राष्ट्रिय हितको रक्षा र सम्बद्र्धनका बिषयमा कुनै प्रकारको कमिकमजोरी हुन नदिने घोषणा गरेको छ । अशान्ति, असुरक्षा र अव्यवस्थाका स्रोत र स्वरुपहरुको अन्त्य गरि नेपाली समाजलाई सवै प्रकारका भयबाट मुक्त गर्ने एमालेको घोषणापत्रमा उल्लेख छ । एमालेले सिंगो स्वाधीन नेपाल र सम्पूर्ण नेपालीलाई समृद्धि र सम्मुनतिको गन्तव्यसम्म पुराएरै छाड्ने संकल्प गरेको छ ।
घोषणा पत्र सार्वजनिक कार्यक्रममा एमाले अध्यक्ष ओलीले देशलाई समृद्ध बनाउने र जनतालाई सुखी बनाउने बाटोमा सबैभन्दा ठूलो तगारो राजनीतिक अस्थिरता भएकाले अस्थिरताको अन्त्य गर्दै मुलुकलाई अघि बढाइने बताउनुभयो । उहाले जस्तोसुकै कठिनाइ आए पनि लोकतन्त्रका आधारभूत मूल्य र मान्यतामा सम्झौता हुन नदिने स्पष्ट पार्नुभयो ।
ओलीले भदौ २४ गतेको महाविनाश अप्रत्यासित घटना नभएको उल्लेख गर्दै राष्ट्रको सार्वभौमसत्ता र अस्तित्वमाथिको योजनाबद्ध आक्रमणमा संलग्नलाई चिन्न ढिलाई गर्न नहुने बताउनुभयो ।
एमाले विचारहीन र दिशाहीन स्टन्टबाट टाढा रहेको र सुशासन, विकास, समृद्धि, समानताको संकल्प स्पष्ट रहेको उहाको भनाइ छ ।
अध्यक्ष ओलीले निर्वाचनपछि बन्ने सरकारको पहिलो मन्त्रीपरिषद् बैठकबाटै निर्णय गरेर समयसीमा तोकी तत्काल गर्ने ११ काम अघि बढाउने प्रतिद्धवता जनाउनुभयो । आसन्न निर्वाचन पुस्तान्तरको नभइ, देश बनाउने र भत्काउने बीचको जनमत संग्रह भएको उहाले बताउनुभयो ।
एमालेले दैलेखको ग्यासको व्यपारिक उत्पादन गर्ने, धौवादी फलाम खानीबाट व्यापारिक उत्पादन सुरु गर्ने, आयात घटाउदै निर्यात बढाउने तथा भुक्तानी सन्तुलन राष्ट्रिय पक्षमा ल्याउने जनाएको छ ।






































