
जनकपुरधाम । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले सङ्घीयतालाई थप बलियो बनाउन राष्ट्रियस्तरमा व्यापक छलफल र सहमति आवश्यक रहेको बताउनुभएको छ ।
सो पार्टीका नेता तथा प्रतिनिधिसभा सदस्य अमरेशकुमार सिंहले आजदेखि सुरु गर्नुभएको मेची–महाकाली पदयात्राको आज यहाँ शुभारम्भ गर्दै सभापति लामिछानेले सङ्घीय संरचनालाई व्यवस्थित, प्रभावकारी र नागरिकमैत्री बनाउन रास्वपाले राष्ट्रिय बहस अघि बढाउने तयारी गरिरहेको बताउनुभयो ।
सङ्घीयताको मर्मअनुसार प्रदेश संरचनालाई थप व्यवस्थित तुल्याउँदै तीनै तहका सरकारलाई अधिकार सम्पन्न र जिम्मेवार बनाउनुपर्ने उहाँले आवश्यकता औँल्याउनुभयो ।
सभापति लामिछानेले सङ्घीयता कुनै एउटा राजनीतिक दलको मात्र नभई मुलुकको शासन व्यवस्था र नागरिकको अधिकारसँग जोडिएको विषय भएकाले यसमा सबै राजनीतिक दलबीच साझा समझदारी आवश्यक रहेको उल्लेख गर्नुभयो ।
“सङ्घीयतालाई बलियो बनाउन र प्रदेश संरचनालाई व्यवस्थित गर्न हाम्रो पार्टीले छलफल चलाइरहेको छ,” सभापति लामिछानेले भन्नुभयो, “सबै राजनीतिक दलसँग सहकार्य गरी सहमतिका आधारमा सङ्घीयतालाई बलियो बनाउने सुधारका काम अघि बढाउँछौँ ।” मुलुकको समग्र विकास र सुशासनका लागि तीनै तहका सरकार सक्षम र प्रभावकारी हुनुपर्नेमा उहाँको जोड थियो ।
सभापति लामिछानेले विशेषगरी स्थानीय तहलाई थप अधिकार सम्पन्न बनाउँदै जनताको सबैभन्दा नजिकको सरकारका रूपमा सेवा प्रवाहलाई प्रभावकारी बनाउनुपर्ने बताउनुभयो ।
कानुनी तथा संरचनागत सुधारमार्फत नागरिकलाई वास्तविक अर्थमा अधिकारसम्पन्न बनाउन आफ्नो पार्टी प्रतिबद्ध रहेको उल्लेख गर्दै उहाँले मधेस प्रदेशका समस्या, आवश्यकता र प्राथमिकतालाई ध्यानमा राखेर काम गर्नुपर्ने बताउनुभयो ।









































