जोडिनुहोस
  • होमपेज
  • अग्र्यानिक कृषि प्रवद्र्धनका लागि सरकारले आवश्यक कदम चाल्ने प्रधानमन्त्रीको प्रतिवद्धता

अग्र्यानिक कृषि प्रवद्र्धनका लागि सरकारले आवश्यक कदम चाल्ने प्रधानमन्त्रीको प्रतिवद्धता

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले नेपालमा अग्र्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन सम्बन्धित निकायहरूलाई निर्देशन दिनुभएको छ।
सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा अग्र्यानिक कृषि व्यवसायीहरुको छाता संगठन ‘अग्र्यानिक एसोसियसन नेपाल’का पदाधिकारीहरुलाई उहाँले आज छलफलका लागि बोलाउनुभएको थियो। सो क्रममा पदाधिकारीहरुले अग्र्यानिक उत्पादनमा अन्तर्राष्ट्रिय प्रमाणीकरणको व्यवस्था निकै खर्चिलो भएकाले सरकारको नियन्त्रणमा अन्तर्राष्ट्रिय मान्यताप्राप्त प्रमाणीकरण एजेन्सी नेपालमै स्थापना हुनुपर्ने माग राखेकामा प्रधानमन्त्रीले त्यसलाई तत्काल सम्बोधन गर्नुभएको हो।
यस्तै, अग्र्यानिक उत्पादनको अन्तर्राष्ट्रिय प्रमाणीकरण गर्न महँगो हुने गरेकाले सरकारले प्रमाणीकरणमा दिँदै आएको ७५ प्रतिशतसम्म अनुदान पनि बन्द भएकोमा त्यसलाई सुचारु गर्न पदाधिकारीले माग गर्नुभएको थियो। नेपालमै अन्तर्राष्ट्रिय मापदण्डको प्रमाणीकरण एजेन्सी स्थापना नभएसम्म उक्त अनुदान प्रदान गर्ने विषयमा समेत प्रधानमन्त्री शाह सकारात्मक हुनुभएको छ।
प्रधानमन्त्री शाहले अनियन्त्रित रासायनिक मल र विषादीको नियन्त्रण गर्दै अग्र्यानिक कृषि प्रवद्र्धनका लागि सरकारले आवश्यक कदम चाल्ने पनि बताउनुभयो।
प्रांगारिक मल उत्पादनमा सरकारले अनुदान दिनुपर्ने माग पदाधिकारीले राख्नुभएको थियो। प्रांगारिक मल उत्पादन गर्ने निजी उद्योग तथा सहकारी संस्थालाई सहयोग अनुदान दिनुपर्ने उहाँहरुको मागअनुरुप व्यवस्था गर्न समेत प्रधानमन्त्री शाहले सम्बन्धित निकायलाई निर्देशन दिनुभएको छ। अग्र्यानिक मलको उत्पादन वा खरिद गर्न रासायनिक मलले पाएको सुविधासरह सुविधा हुनुपर्ने मागमा प्रधानमन्त्री सकारात्मक हुनुभयो।
साथै, अग्र्यानिक उत्पादन निर्यातमा सरकारले दिने गरेको अनुदान दुई वर्षयता रोकिएकोमा उक्त समस्या कानूनी रुपमै निराकरण गर्ने प्रयासमा सम्बन्धित मन्त्रालयले कार्यविधि बनाइरहेको उहाँले बताउनुभयो।
छलफलमा एसोसियसनका अध्यक्ष दीपक बास्कोटा, महासचिव शान्ता बास्कोटा कोइराला, सदस्यहरु तथा गोर्खा टि इस्टेटका अध्यक्ष उदय चापागाईं, हिमालयन सांग्रिला टि फ्याक्ट्रीका अध्यक्ष कमल मैनाली र अन्नपूर्ण अर्गानिक एग्रो इन्डस्ट्रीका अध्यक्ष फर्शुराम आचार्य सहभागी हुनुहुन्थ्यो

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका