राजनीति
राष्ट्रियसभा बैठक मंगलबार पनि अवरुद्ध, सीमाका बिषयमा प्रधानमन्त्रीको स्पष्टिकरण माग

काठमाडौं । सांसदहरुको विरोधका कारण राष्ट्रियसभा बैठक बुधबारसम्मका लागि स्थगित भएको छ ।
मंगलबार बैठक सुरु हुनेबितिकै भारतको सीमा मिचेको भन्ने प्रधानमन्त्रीको अभिव्यक्तिबारे आपत्ति जनाउँदै सांसदहरूले विरोध जनाएपछि राष्ट्रियसभा बैठक बुधबारम्मका लागि स्थगित भएको हो । बैठकको शुरूमै आकस्मिक समय माग गर्दै राष्ट्रियसभा सदस्य तुल प्रसाद विश्वकर्माले प्रधानमन्त्री स्वयं उपस्थीत भएर उक्त अभिव्यक्ति फिर्ता लिदै माफी माग्नुपर्ने माग गर्नुभयो । उहाले नेपाल–भारत सीमा विवादलाई अन्त्य गर्न पहल गर्नुपर्नेमा उल्टै नेपालले भारतको भूमि मिचेको भन्ने प्रधानमन्त्रीको अभिव्यक्ति नेपाल र नेपालीमाथि ठूलो दुर्भाग्य भएको बताउनुभयो ।
त्यस्तै अन्य सदस्यहरुले पनि प्रधानमन्त्रीको सम्बोधनका सन्दर्भमा स्पष्ट पार्न माग गरेका थिए । आकस्मिक समयपछि सदस्यहरुले उभिएर विरोध जनाएपछि राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालले कार्यसूचीलाई अघि बढाउनका लागि सहयोग गर्न आग्रह गर्नुभएको थियो । तर राष्ट्रियसभा सदस्यहरुले निरन्तर विरोध जनाएपछि अध्यक्ष दाहालले बुधबारसम्मका लागि बैठक स्थगित गर्नुभएको छ ।








































