
काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा क्रममा भ्रष्टाचार गरेको आरोपमा पूर्वमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीसहित १४ जनाविरुद्ध मुद्दा दायर गरेको छ । पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा कर छुट दिएर भ्रष्टाचार गरेको आरोपमा अख्तियारले पूर्वअर्थमन्त्री कार्कीसहित तत्कालीन सरकारी अधिकारी तथा चिनियाँ निर्माण कम्पनीविरुद्ध विशेष अदालतमा आरोप–पत्र दायर गरेको हो ।
उनीहरूबाट ३ अर्ब ६२ करोड ५ लाख २२ हजार १ सय ६० रूपैयाँ बिगो माग दाबी गरिएको विशेष अदालतका प्रवक्ता कृष्णशरण लामिछानेले जानकारी दिनुभयो । विमानस्थल निर्माणका क्रममा मूल सम्झौताको प्रावधान विपरीत ठेकेदार कम्पनीलाई कर छुट दिएर नेपाल सरकारले ऋण स्वरूप प्राप्त गरेको सार्वजनिक सम्पत्तिमध्येबाट ३ अर्ब ६२ करोड ५ लाख २२ हजार १ सय ६० हिनामिना, हानिनोक्सानी र दुरूपयोग भएको अख्तियारको ठहर छ ।
नेपाल नागरिक उड्डयन प्राधिकरण र निर्माण कम्पनी चाइना सीएएमसी इन्जिनियरिङबीच भएको मूल खरिद सम्झौतामा कर छुट दिएर नेपाल सरकारलाई हानी नोक्सानी पुराएको ठहरसहित आरोप पत्र दायर भएको विशेष अदालतका प्रवक्ता लामिछानेले बताउनुभयो ।
अख्तियारले पूर्वअर्थमन्त्री कार्कीका साथै तत्कालीन अर्थसचिव शंकर अधिकारी, तत्कालीन पर्यटन सचिव महेश्वर न्यौपाने, तत्कालीन सहसचिवहरु केवल प्रसाद भण्डारी, सुरेश आचार्य र डण्डुराज घिमिरे, नागरिक उड्डयन प्राधिकरणका तत्कालीन महानिर्देशक सञ्जीव गौतम लगाएतलाई प्रतिवादी बनाएको छ ।






































