
काठमाडौं । नेपाल ट्रेड युनियन कांग्रेसले सरकारको शासकीय सुधार कार्यसूचीमा उल्लेख ट्रेड युनियन खारेजीको बिषयप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै ट्रेड युनियन कांग्रेसले मुलुकको परिवर्तनमा ट्रेड युनियनको भूमिका निकै महत्वपूर्ण रहेको भन्दै ट्रेड युनियन नै खारेज गर्ने काम उचित नभएको समेत जनाएको छ । संविधानले नै श्रमिकलाई टे«ड युनियन खोल्ने र त्यसमा सहभागी हुन पाउने हकको ग्यारेन्टी गरेकाले टे«ड युनियनहरुलाई निषेध गर्ने वा खारेज गर्ने कुनै पनि प्रयास संविधान प्रदत्त मौलिक हकहरुको प्रत्यक्ष उलंघन हुने नेपाल ट्रेड युनियन कांग्रेसका अध्यक्ष योगेन्द्रकुमार कुँवरले बताउनुभयो ।
टे«ड युनियनहरुलाई निषेध गर्ने वा खारेज गर्ने कार्यले श्रमिक आन्दोलनलाई सीमित पार्ने र लोकतान्त्रीक अभ्यासहरुलाई समेत कमजोर बनाउने खतरा उत्पन्न हुने उहाले बताउनुभयो ।
उहाले टे«ड युनियनमा देखिएका कमिकमजोरीहरुलाई सुधार गर्दै सामाजिक सम्वाद र सौदावाजीको माध्यमबाट उत्पादकत्व वृद्धि, गुणस्तरीय उत्पादन तथा सेवा र मर्यादित कामप्रति प्रतिवद्ध रहेको धारणा राख्नुभयो ।
त्यस्तै टे«ड युनियन कांग्रेसले संगठन स्वतन्त्रता माथि अंकुश लगाउने निर्णय, न्यूनतम पारिश्रमिक बोर्डको खारेजी र सरकारी विज्ञापन तथा संचार माध्यमबाट मात्र प्रकाशन गर्ने निर्णय तत्काल फिर्ता लिन समेत माग गरेको छ ।




































