
काठमाडौं । गृहमन्त्री ओमप्रकाश अर्यालले बिहीबार हुने प्रतिनिधिसभा निर्वाचनका लागि देशभरि नै पूर्णरूपमा सुरक्षाको प्रत्याभूत गराइएको बताउनुभएको छ ।
बुधबार मन्त्रालयमा सञ्चारकर्मीसंग कुरा गर्दै मन्त्री अर्यालले निर्वाचनका लािग एकीकृत सुरक्षा योजना पारित गरेर त्यसैका आधारमा सुरक्षा संयन्त्रहरु परिचालन गरिएको भन्दै देशभरि नै पूर्णरूपमा सुरक्षाको प्रत्याभूत गराइएको बताउनुभएको हो ।
उहाले मतदान भइसकेपछि सुरक्षित रुपमा छिटो भन्दा छिटो मतपेटिकाहरु निर्वाचन अधिकृतको कार्यालयमा ल्याइने जानकारी दिनुभयो ।
मतपेटिकाहरु ल्याउदा नेपाल प्रहरी र सशस्त्र प्रहरीले स्कटिङ गर्ने भन्दै उहाले असुरक्षाको महशुस भए सेनाको गाडीले पनि स्कटिङ गर्न सक्ने उल्लेख गर्नुभयो ।
निर्वाचनका क्रममा अराजक गतिविधि देखिए तत्काल नियन्त्रणमा लिएर कानूनी कारवाही गर्ने उहाले स्पष्ट पार्नुभयो । गृहमन्त्री अर्यालले वर्तमान अन्तरिम सरकारले गराउने निर्वाचन पहिले भन्दा पनि सुदृढ, स्वच्छ र धाँधलीरहित हुने बताउनुभयो ।
सरकारले भयमुक्त वातावरणमा मतदान गर्न पाउने अधिकार सुनिश्चित गरेकाले मतदानमा सहभागी हुने उहाले मतदातालाई अनुरोध समेत गर्नुभयो । उहाले अहिलेको निर्वाचनले राजनीतिक सुशासन कायम गर्नका लागि फड्को मार्ने अपेक्षा रहेको बताउनुभयो ।





































