
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले नेपालमा नागरिक स्वतन्त्रताका लागि भएका हरेक संघर्ष र बलिदानीपूर्ण आन्दोलनहरूमा मधेसी समुदायको भूमिका ऐतिहासिक र महत्वपूर्ण रहेको बताउनुभएको छ ।
मधेशी आयोगको सातौ वार्षिक उत्सव तथा स्थापना दिवसको अवसरमा शनिबार राष्ट्रपति भवन शितलनिवासमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले ती आन्दोलनहरूमा अभिव्यक्त स्वतन्त्रता, समभाव, सामाजिक न्याय, सुशासन, विकास र समृद्धिसहितको राष्ट्रिय एकताको भावना अभिवृद्धि सबै नेपालीको चाहना हो भन्नुभयो ।
“यो चाहनालाई आत्मसाथ गरेर अघि बढ्नु आजको मुख्य आवश्यकता हो, हालै सम्पन्न निर्वाचनमार्फत नेपाली जनताले अभिव्यक्त गरेको राष्ट्र निर्माणको दायित्वलाई पूरा गर्न म यस अवसरमा सबै पक्षलाई आह्वान गर्दछु”, राष्ट्रपति पौडेलले भन्नुभयो ।
उहाँले नेपाल एक बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक तथा भौगोलिक विविधताले सम्पन्न राष्ट्र हो भन्दै यस विविधताभित्र मधेसी समुदायले राष्ट्र निर्माणमा पु¥याएको योगदान महत्वपूर्ण रहेको बताउनुभयो । “आयोगले विगत सात वर्षमा मधेशी समुदायको पहिचान र अधिकारका लागि जुन जग बसालेको छ, आगामी दिनमा यसलाई अझ उचाइमा पु¥याउनेछ भन्ने मेरो विश्वास छ”, राष्ट्रपति पौडेलले भन्नुभयो ।
ऐतिहासिक रूपमा केही समुदायहरू—विशेषतः मधेसी समुदाय—राजनीतिक, सामाजिक र आर्थिक अवसरहरूबाट वञ्चित रहँदै आएको यथार्थलाई स्वीकार गर्दै ती असमानताहरूको अन्त्य गर्ने उद्देश्यले मधेसी आयोगको स्थापना गरिएको उहाँको भनाई थियो ।









































