राजनीति
पार्टीको पहिलो महाधिवेशन आगामी असार ७ गतेदखि चितवनमा आयोजना गर्ने रास्वपाको निर्णय

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पार्टीको पहिलो महाधिवेशन आगामी असार ७ गतेदखि चितवनमा आयोजना गर्ने निर्णय गरेको छ ।
पार्टी कार्यालय बनस्थलीमा बुधबार बसेको रास्वपा केन्द्रीय समिति बैठकले पार्टीको स्थापना दिवस पारेर पार्टीको पहिलो महाधिवेशन असार ७, ८ र ९ गते चितवनमा गर्ने निर्णय गरेको रास्वपा नेता प्रकाशचन्द्र परियारले दिनुभयो ।
बैठकमा पार्टी सभापति रवि लामिछानेले महाधिवेशनसम्बन्धी प्रस्ताव प्रस्तुत गर्नुभएको थियो । महाधिवशेनको मिति तय भएसंगै पार्टी केन्द्रीय समिति आयोजक समितिमा रूपान्तरण भएको उहाले जानकारी दिनुभयो ।
केन्द्रीय समिति बैठकले महाधिवेशन सम्पन्न गर्न बिभिन्न उपसमितिहरु गठन गरेको छ । महाधिवेशनमा ७७ वटै जिल्लाबाट कम्तिमा २५ सय प्रतिनिधिहरुको सहभागीता हुने अनुमान गरिएको नेता परियारले बताउनुभयो । त्यसैगरी बैठकले जेठ २६ गते बागमती प्रदेश, २७ गते कोशी प्रदेश, २८ गते मधेस प्रदेश, २० गते गण्डकी प्रदेश, ३० गते लुम्बिनी प्रदेश, ३१ गते कर्णाली प्रदेश र असार १ गते सुदूरपश्चिम प्रदेशको अधिवेशन हुने परियारले जानकारी दिनुभयो ।
त्यस्तै पालिका अधिवेशन पनि आयोजना गर्ने तयारी भएको भन्दै उहाले पालिका अधिवेशन हुन नसकेको खण्डमा अहिलेको पालीका संयोजक नै महाधिवेशन प्रतिनिधि हुने व्यवस्था गरिएको समेत उल्लेख गर्नुभयो ।







































