
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय समिति बैठक सोमबार बस्ने भएको छ । पार्टी प्रवक्ता मनिष झाले सोमबार अपरान्ह ३ः०० बजे वनस्थलीस्थित पार्टी केन्द्रीय कार्यालयमा बैठक बस्ने जानकारी दिनुभयो ।
पार्टी सभापति रवि लामिछानेको निर्देशानुसार बैठकमा अनिवार्य उपस्थितिका लागि सबैलाई अनुरोध गरिएको उहाँले बताउनुभयो ।
यसैबीच, रास्वपा सचिवालय बैठक आज अपराह्न ३ः३० बजे बस्दैछ । बैठकले केन्द्रीय समिति बैठकका ‘एजेण्डा’ तय गर्ने जनाइएको छ । बैठकमा प्रतिनिधिसभा सदस्यको संगठनात्मक जिम्मेवारी र संसदीय दलको लागि प्राविधिक सहायता एवं ‘लेवी’लगायत विषयमा पनि छलफल हुने प्रवक्ता झाले जानकारी दिनुभयो ।
बैठकमा जिल्ला अधिवेशन कार्यविधि, केन्द्रीय आयोग, सल्लाहकार परिषद्, सङ्घीय नेतृत्व मञ्च र विभागको मनोनयन, महाधिवेशन कार्यविधि मस्यौदा समिति गठनलगायत विषयमा समेत छलफल हुने उहाँले बताउनुभयो ।







































