
काठमाडौं । प्रत्येक वर्ष वैशाख कृष्ण पक्ष औँसीका दिनमा जन्मदाता आमालाई सम्मान गरी मनाइने आमाको मुख हेर्ने पर्व देशभर आमालाई मीठा–मीठा खानेकुरा खान दिई श्रद्धा भक्तिसाथ मनाइएको छ ।
छोराछोरीले बिहानै उठी नुहाएर आफ्नी आमालाई राम्राराम्रा लुगा र मीठामीठा खानेकुरा खान दिई आशीर्वाद थाप्ने चलन छ ।
आमा नभएकाहरू भने आमालाई तर्पण र पिण्ड तथा पुरोहितलाई सिदादानसहित भोजन गराई दिवङ्गत आमाले गरेका महान् एवं कष्टकर काम सम्झने गर्दछन् भने यस दिन दिवङ्गत आमाका नाममा श्रद्धा भक्तिसाथ तर्पण, पिण्डदान र सिदादान गरिन्छ ।
वैशाख कृष्ण औँसीका दिन दिवङ्गत आमाले आश गर्ने भएकाले तर्पण, पिण्डदान र सिदादानसहित श्राद्ध गरे खुसी भई आशीर्वाद दिने शास्त्रीय मान्यता रहेको छ ।
यस अवसरमा चन्द्रागिरि नगरपालिकास्थित मातातीर्थमा मेला लागेको छ । दिवङ्गत आमाको सम्झनामा चन्द्रागिरि नगरपालिका वडा नं ६ स्थित मातातीर्थमा तर्पण, श्राद्ध र पूजा गर्नेको घुईचो लागेको हो ।
आमा नहुनेल मातातीर्थमा स्नान तथा हरिहर (विष्णु र शिव)को दर्शन र पूजा गर्दछन् । मातातीर्थ कुण्डमा स्नान गरेमा दिवङ्गत आमालाई शान्ति मिल्ने जनविश्वास छ ।









































